Dashain Banner
Dashain Banner

सामान्य प्रशासन मन्त्री लथालिङ्ग हेर्दै बस्दै, ४६ सय कर्मचारीलाई के गरे ?

शुक्रबार, वैशाख २८, २०८१

२०८० फागुन २३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका भानुभक्त जोशीले आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयको अवस्था लथालिङ्ग पाएको बताएका थिए। र, उनले केही महिनामै देखिने गरि सुधार गर्नु भनेर वचन पनि दिए। उनले मन्त्रीको पदभार ग्रहण गरेको ठ्याक्कै दुई महिना नाघिसकेको छ तर सामान्य मन्त्रालय झन् असामान्यरुपले लथालिङ्ग हुँदै गएको छ। 

प्रशासनिक संघीयता कार्यान्वयन सम्बन्धी कार्यक्रममा मन्त्री जोशीले विगतमा मन्त्रालयले गरेको कर्मचारी समायोजन र कामकाजमा खटाउने नीतिका कारण जथाभावी कर्मचारी सरुवा र खटनपटनले मन्त्रालय लथालिङ्ग बनेको बताएका थिए। समस्या बुझेका मन्त्रीले समाधानको विधि पनि खोज्लान् भनेर कर्मचारी त्यो बेला उत्साही त भए तर अहिले तिनै मन्त्री जोशीले झन् भद्रगोल किसिमले कर्मचारीको सरुवा ठोक्न थालेका छन्। 

एक महिना पनि नपुग्दै उपसचिवले तीन मन्त्रालय सरुवाको पत्र बुझ्नु परेको छ। अझ कतिपय सरूवा त लिलाम बढाबढमै हुने गरेको छ। कसैलाई सुगममा दुई महिना टिक्न नदिने त कोही सुगममा पाँचै वर्ष बिक्ने गरेका छन्। यस्ता समस्या आफ्नै अगाडी देख्दा पनि मन्त्रीले चासो देखाएकै छैनन्। भन्दा सबै भन्छन गर्न केही गर्दैनन् हाम्रो मन्त्रालयका मन्त्रीकै विशेषता यहि हो एक सहसचिवले सुनाए। 

विगतमा मन्त्रालयले सम्पादन गरेका कामप्रति मन्त्री जोशीको असन्तुष्टि छ । कर्मचारी समायोजन, लोक सेवा पास गरेर आएका कर्मचारीलाई कामकाजमा खटाउने नीति र प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयले आफ्नो मन्त्रालयको अवस्था लथालिंग बनेको भनाइ थियो ।

सरुवामा मन्त्रालय आफैंले समस्या सिर्जना गरेको भन्दै उनले कर्मचारी समायोजन नै सही ढंगले नभएको बताए । ‘लोकसेवाबाट आएका कर्मचारीलाई एउटै डालोमा राखेर पठाएको भए राम्रो हुन्थ्यो । संघ, स्थानीय र प्रदेशमा समायोजन भएका कर्मचारीले विभेद महसुस गरेका छन् । संघका कर्मचारीले चाहेमा स्थानीय संघ र प्रदेश जता पनि घुमिराख्न मिल्ने तर स्थानीय तहमा समायोजन भएका कर्मचारी कतै जान नपाउने परिस्थिति बनाइएको छ,’ मन्त्री जोशीले त्यो बेला भनेका थिए ।

मन्त्रालय सरुवामा केन्द्रित रहेको भन्दै उनले सुधारको खाँचो रहेको बताए पनि दुई महिना बितिसक्दा पनि केही छेकछन्द देखिएको छैन ।

मन्त्री जोशीले संघले लोक सेवा पास गरेका कर्मचारीलाई स्थानीय तहमा पठाएपनि त्यसको सही कार्यान्वयन हुन नसकेको बताएका थिए  । उनले अहिले संघले स्थानीय तहमा पठाएको ४६ सय कर्मचारी यता न उताको अवस्थामा रहेको बताए । कामकाजमा खटाउने नीतिबाट सरुवा भएका कर्मचारीलाई पुरानो ठाउँमा फर्कन नदिने र नयाॅ ठाउॅमा यी त हाम्रा कर्मचारी होइनन् भन्ने परिस्थिति बनेको उनको भनाइ थियो । ४६ सय कर्मचारीलाई ब्यबस्थापन गर्छु भने पनि मन्त्रालयमा रहेका २६ कर्मचारीको ब्यबस्थापन गर्नमा नै मन्त्री चुकेका छन्। 

२०७५ मा समायोजन ऐन जारी भएपछि पनि कतिपय एउटा पालिकाबाट अर्कोमा सरुवा गरेको प्रसंग जोड्दै मन्त्री जोशीले मन्त्रालयमा लथालिंग अवस्था सिर्जना भएको बताएका थिए । तर त्यो मन्त्रीको देखेको लथालिंग अहिले झन् चर्को भएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्