हिरासतमा रविको तस्बिर खिच्ने निकोलसलाई प्रहरीले फेरि समात्यो

बिहीबार, माघ ३, २०८१

हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले फेरि डा. निकोलस भुसाल (कमल)लाई नियन्त्रणमा लिएको छ ।

गत पुस ८ गते प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । सोही दिन विद्युतीय अपराधको मुद्दामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो । तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो ।

त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्नेगरी सोही दिन नै रिहा गरिएको थियो ।

लामिछानेसहितका प्रतिवादीहरू अदालतले धरौटीमा रिहा गरेपछि काठमाडौं गइसकेका छन् । उनै लामिछानेको तस्बिर खिचेका भुसाललाई भने प्रहरीले सोही मुद्दामा पुनः पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले भुसाल प्रहरी हिरासतमा रहेको बताए । उनका अनुसार अदालतमा पत्र बुझाएपछि भुसाललाई नियन्त्रणमा लिइएको हो । साँझ ६ बजेसम्म भुसाल भने प्रहरीको अपराध/अनुसन्धान शाखामा उपस्थित थिए । प्रहरीले त्यहीँबाट उनलाई हिरासतमा राखेको हो ।

भुसाललाई शुक्रबार अदालतमा पेस गर्ने र बयान गराइने ओलियाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्