सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगन गर्न सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।
खड्काले सामाजिक सञ्जालमार्फत असोज ३ गतेदेखि सुरु हुन लागेको महाधिवेशन कार्यतालिका केही समयका लागि स्थगन गर्न आग्रह गरेका हुन्।
साथै उनले पूर्वसभापति शेरबहादुर देउवालगायत अग्रज नेताहरूसँग तत्काल वार्ता गर्न पनि सभापति थापालाई सुझाव दिएका छन्। वार्ता र संवादको माध्यमबाट पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको उनको भनाइ छ।
‘असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घाेषणा गरेकाे १५ औँ अधिवेशनकाे कार्यतालिका स्थगन गरी केही समयकाे लागि सार्नुस्,’ उनले सभापति थापालाई भनेका छन्, ‘तपाईंले पार्टीमा आज गर्नुभएकाे निर्णयकाे बलियाे जगमा पार्टीकाे १४औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्ष नेता शेरबहादुर देउवाज्यू अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता-संवाद तत्काल प्रारम्भ गर्नुस्, मलाई आत्मविश्वास छ, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ!’
पार्टीका दुई वटा अलग-अलग महाधिवेशन नरोकिए कांग्रेसको विभाजन हुने उनले चेतावनी दिएका छन्। उनले यसले अन्य राजनीतिक दलहरूमा समेत विभाजन ल्याउने र देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको अकल्पनीय रणसंग्राम मच्चिन सक्ने आशंका व्यक्त गरेका छन्।
कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते हुँदै छ। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ।