सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अन्तिम डिलमा पुगेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू महाधिवेशनमा सहभागी नभएको बताएका हुन् ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले शनिबार र आइतबार वडा अधिवेशन गरिरहेको छ। १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन कार्य करिब आज सकिनेछ।
‘सम्बन्धित सबैमा स्पष्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन–रहने छैन,’ खड्काले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। अदालतमा आफूहरूले दिएको मुद्दा रहेकोले महाधिवेशनमा सामेल नरहेको उनको भनाइ छ। तर खड्का पक्षका सबै नेता महाधिवेशनमा सामेल छन्।
उनले चमत्कार भएन भने पार्टी विभाजन डिलमा पुगेको उल्लेख गरेका छन्।
‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ। पार्टीका आदरणीय सबै साथीहरू, तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ,’ उनले भनेका छन्।