संसदीय छानबिन समिति बन्यो सबैको प्रतिष्ठा, गृहमन्त्रीको देखिने भयो बल्ल अब निष्ठा

बुधबार, वैशाख २६, २०८१

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले ईन्द्रेको बाउ चन्द्रे आएपनि संसदीय छानबिन समिति गठनमा भाँजो हाल्न नसक्ने भन्दै कांग्रेस ब्याक नहुने प्रष्ट पारेका छन्। देउवाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति जसैगरी बन्ने बताएका हुन्। 

आज (बुधबार) देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएर सहकारी ठगी प्रकरणमा छानविन समितिको मागलाई अझ सशक्त ढंगले अगाडि बढाउन भनेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आइरहेको छ ।

बैठकमा सहभागी भएका एक नेताका अनुसार आगामी संसद् अधिवेशन सुचारु गर्ने वा नगर्ने भन्ने जिम्मा कांग्रेसले सरकारलाई नै दिने भएको छ । ती नेताका अनुसार कांग्रेसको एउटै शर्त सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति हो ।

आगामी वैशाख २८ गते दिउँसो २ बजेका लागि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्  । यसअघि पनि कांग्रेसको विरोधका कारण संसद् अधिवेशन अन्त्य गरिएको थियो । समस्याको समाधान नखोजी फेरि अधिवेशन आह्वान गरिँदा सरकार अन्यौलमा छ । हिजो (मंगलबार) सभामुख देवराज घिमिरेले गतिरोध अन्त्य गरी संसद् सूचारु गर्ने विषयमा दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । कांग्रेस आफ्नो मागबाट टसमस नभएपछि उक्त बैठक पनि निश्कर्षविहीन बनेको थियो । कांग्रेस र सत्ताधारीले छानबिन समिति बनाउने र नबनाउने विषयलाई प्रतिष्ठाको विषय बनाएका छन्। 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्