उपेन्द्रले निर्वाचन आयोगको हुर्मत लिने, बाँकीलाई देखाई दिने

बुधबार, वैशाख २६, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले फुटेर गएकाहरुलाई निर्वाचन आयोगले गैरकानुनी रुपमा दल दर्ता गरिदिएको आरोप लगाएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दैै उनले आयोगको उक्त गैरकानुनी कार्यलाई अदालतबाट च्यालेन्ज गर्ने बताएका हुन् । जसपा नेपालबाट विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको थियो । उनले उक्त दल दर्ता गैरकानुनी रहेको दाबी गरे ।


‘त्यो पार्टी निर्वाचन ऐन, राजनीतिक दल सम्बन्धि ऐनको विपरीत, ऐन संसद्मा विचाराधीन रहेको अवस्थामा गैरकानुनी तरिकाबाट, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरे । यो दर्ता गैरकानुनी छ । हामी कोर्टबाट चुनौति दिन्छौं,’– उनले भने, ‘नेपालको इतिहासका यतिछिटो दर्ता भएको यो पहिलो पटक होला । यसमा कुनै वैचारिक आधार छैन, मुद्दामा फरक छैन । व्यक्तिगत महत्वकांक्षा भनेको सांसद् बनेकै छन्, मन्त्री बनेकै छन् । त्यहाँभन्दा बढी बनाउने क्षमता त हामीसँग छैन ।’

पार्टी फुटाएर गएकाहरुले पहिचान, मधेश र संघीयताको मुद्दालाई धरापमा पार्ने काम गरेको उनको आरोप छ । साथै, संघीयता, पहिचान र समावेशितका मुद्दामा जसपा नेपाल प्रतिवद्ध रहेको उनको भनाइ छ । सरकारलाई दिएको समर्थन कायमै राख्ने पनि उनले बताए । ‘सरकारप्रति हाम्रो समर्थन यथावत नै छ । यो रहन्छ । बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्ने हो । हामीले संघीयता, पहिचान, समावेशितका कुरा अगाडि बढाइरहेको छौं । सुशासन विकास र समृद्धिका मुद्दाहरु अरुले छाडेपनि हामीले अगाडि बढाइरहेका छौं । ती मुद्दाहरुलाई निस्तेज पार्ने राजनीतिक प्रहार भयो,’– उनले भने ।

पार्टी विभाजन भएपनि केन्द्रीय समितिका दुई तिहाई बढी, कार्यकारिणी समितिमा बहुमत आफूसँमगै रहेको उनले बताए । आगामी दिनमा पार्टी अझै सुदृढ भएर जाने उनले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्