आश लाग्दो केटो जेठाजु पर्यो, उर्जा सचिव नपाएर मन्त्रीलाई खडेरी लाग्यो

सोमबार, असोज ५, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठ तुलनात्मक रुपमा रास्वपा भित्रका आलोचनात्मक चेत भएका मन्त्रीका रुपमा चिनिएका छन्। एक कार्यकाल वागमती प्रदेशको प्रदेश सांसदमा निर्वाचित हुँदै दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर दोश्रो पटक मन्त्री भएका छन्।  यस अघि छोटो समय खेलकुद मन्त्री बनेका उनी अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको भूमिकामा छन्।  अघिल्ल्लो प्रतिनिधिसभाको निर्वाचनपछि गठित रास्वपा संसदीय दलको उपनेता समेत भएर काम गरेको अनुभव पनि उनी सँग छ।

प्राविधिक मन्त्रालय त्यो पनि ठुलै आकारको बजेट चलाउनु पर्ने र काम गरेर देखाउनु पर्ने बुझाईमा रहेका उनले मन्त्री बनेपछि मन्त्रीको हैसियतमा कर्मचारी चलाएर भद्रगोल पारेनन्। प्रशासनिक तहलाई विश्वासमा लियर नतिजा निकाल्ने ध्याउन्नमा लागेका उनले कम उमेरको भनेर चर्चा कमाएकी सचिव सरिता दवाडीलाई भरपुर बिश्वास पनि गरे। तर, सचिव दवाडीले मन्त्रीले गरेको विश्वासलाई टिकाउन सकिनन् र उनलाई त्यहाँ बाट हटाउने निर्णयमा पुगे। अहिले उर्जा मन्त्रालय सचिव विहिन छ। २०८० चैतदेखि निरन्तर उर्जा सचिव रहेकी दवाडीको सरुवा भईसकेको छ। 

हुन त उनको सरुवा पहिल्यै हुनुपर्ने हो। तर, मन्त्री श्रेष्ठले मन्त्रालय बुझेको युवा सचिव भएकै कारण उनलाई पूरापूर विश्वास गरेको मन्त्रालयका एक सहसचिवले बताए। पछिल्लो पटक उपसचिव स्तरका ८७ जना सिडिई सरुवामा सचिव दवाडीले मन्त्री समेतको नाम भजाएर कूत उठाएको प्रणामनै फेला परेपछि आफैले चरम विश्वास गरेको सचिवले घात गरेपछि मन्त्रीले पनि उनलाई विश्वास घातको कारवाही स्वरुप ठाउँको ठाउँ सरुवा गरिदिएका हुन्। 

सिंचाई विभागमा उपसचिव हुँदै जागिर सुरु गरेकी दवाडी त्यहींको महानिर्देशक भएर पनि काम गरेकी थिईन। उनलाई सिंचाईको केस्रा-केस्रा थाहा भएकैले सरुवामा पनि सोहि बमोजिमको दररेट नै तोकेको अर्का एक कर्मचारीले बताए।  मापदण्डका नाममा भेटी संकलन भएपछि सचिवले सरुवा पत्र बुझ्नु परेको हो। 

संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) पछि पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जा आयोगको सचिवालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा प्राविधिकतर्फ सचिवको दरबन्दी छ। 

प्राविधिक सचिव रहने पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सरजुकुमार वैद्य असोज १५ गते अवकाशमा जाँदै छन्। यदि सरकारले प्राविधिकतर्फ सचिव बढुवा नगर्ने हो भने अर्को सातासम्म ऊर्जा, पूर्वाधार विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगको सचिवालय सचिवविहीन हुनेछन्। 

हुन त सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबु पुडासैनीलाई उर्जा सचिव बनाउने विकल्प छ। तर, उनलाई पनि तत्काल स्वागत गर्ने पक्षमा मन्त्री नरहेको मन्त्री निकट श्रोतको भनाई छ। 

भौतिक सचिव सिग्देल रउर्जा आयोगका वैद्य घर गएपछि मात्र उक्त क्लष्टरको सचिवमा जगदिश्वर कर्माचार्य र नवीनराज सिंह बढुवा हुने छन्। कर्माचार्य जल तथा मौसम विज्ञानतिरका हुन् भने सिंह ऊर्जातिरका विज्ञ हुन्। कर्माचार्य ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय कार्यरत छन्। सिंह लगानी बोर्डको प्राविधिक सहसचिव हुन्। मन्त्री श्रेष्ठले कर्माचार्यलाई निमित्त दिएर तत्काल काम लगाउन पनि सक्नेछन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दिनानाथ मिश्र आगामी चैतमा अवकाशमा जाँदैछन्। प्राविधिक सचिवमा बढुवाका लागि कर्माचार्य र सिंहसहित मिना श्रेष्ठ, पद्यकुमार मैनाली, गणेशप्रसाद भट्टलगायत प्रतिक्षामा रहेका छन्।

सहसचिव सचिवमा बढुवा भएपछि मात्र सचिव भित्र्याउने हुँदा उर्जा मन्त्रीले अझै केही साता प्रतीक्षा गर्नु पर्ने हुन्छ। 

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १०:३२
प्रतिक्रिया दिनुहोस्