सोसल मिडिया
युनिकोड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार साँझ अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भेट गरेका थिए ।
सो क्रममा उपचारमा संलग्न चिकित्सकहरूले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने प्रचण्डलाई जानकारी दिएका थिए ।
सो अवसरमा वैद्यले आईसीयूमा सारेपछि केही सहजता महसुस भएको प्रचण्डलाई जानकारी दिए । प्रचण्डले वैद्यको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरेका थिए ।
सो क्रममा दुबैजना भावुक भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड र वैद्यबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी विभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरूबीच अहिले पनि भावनात्मक सम्बन्ध गहिरो रहेको बताइन्छ ।