नेपालका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने राजेन्द्रको माग

आइतबार, पुस १४, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

राप्रपा कोशी प्रदेशको आयोजनामा शनिबार इटहरीमा सम्पन्न विरोध सभामा उनले यस्तो दाबी गरेका हुन् । हिन्दू राष्ट्र अपरिहार्य रहेको उल्लेख गर्दै उनले देशका लागि राजासहितको प्रजातन्त्र आवश्यक रहेको बताए । 

रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाइएको उल्लख गर्दै अध्यक्ष लिङ्देनले यो हतियारले ठूला दलका कुनै नेता नजोगिने ठोकुवा गरे । ‘रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ,’ अध्यक्ष लिङदेनले भने, ‘अब दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन ।’

वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई झनै संरक्षण गरेको दाबी गर्दै लिङदेनले  नेपालका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । त्यसको सुरुवात राप्रपाबाट गर्न उनको आग्रह थियो । 

कार्यक्रममा राप्रपाका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलहरूले नै प्रजातन्त्र मास्ने काम गरेको आरोप लगाए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको उनको दाबी छ । 

जनताले अहिले विकल्पको खोजी गरेको दाबी गर्दै डा. लोहनीले तीन ठूला पार्टीका अध्यक्षलाई संसदमा उभिएर ‘भ्रष्टाचार गरेको छैन र नेपालबाहिर पैसा राखेको छैन’ भन्न चुनौती दिए । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्