सोसल मिडिया
युनिकोड
नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि एमालेबाट धपाएको छ भने पार्टीका अन्य दुई नेत्री लाई छ महिना निलम्बन गर्ने निर्णय गरेको छ।
बिन्दा पाण्डे र उषाकिरण तिमल्सिना जिम्मेवारी ६ महिनाका लागि खोस्ने निर्णय पुस १० गते बसेको सचिवालय बैठकले गरेको हो।
पार्टी कार्यालय बनाउन दान लिएको विषयमा आलोचनात्मक धारणा राखेका तीनजना माथि एमाले आक्रामक बन्दै कारबाही गरेको हो। अछामका रावललाई सधैका लागि धपाएपनि एमालेले नुवाकोटका दुई नेत्री पाण्डे र तिमल्सिना लाई भने अत्याउन खोजेको छ।
एमाले अध्यक्ष केपी ओलीले चेली भनेर सम्बोधन गर्ने गरेका नुवाकोटका दुई नेत्रीको छ महिना सम्मलाई हातखुट्टा बाँधिदिएका हुन्। त्यसपछि कारबाही फुकुवा हुन्छ या त झन् कडा हुन्छ अहिल्यै भन्न सकिने अबस्था छैन।
ओलीले केही नुवाकोटेलाई काखा र केहीलाई पाखा पारेको टिप्पणी हुन थालेको छ। हुन पनि एमाले उपमहासचिव रहेका विष्णु रिमाल ओलीका भित्रियाका रुपमा सुपरिचित छन्।
प्रधानमन्त्री समेत रहेका ओलीको प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा रहेका रिमाल नुवाकोटकै हुन्। उनी ओलीका सनातनी भित्रिया हुन्। ओली प्रधानमन्त्री बन्दा होस् या त पार्टी अध्यक्ष बन्दा नै किन नहोस् रिमालले डाडु पन्यू चलाउने गरेको एमालेकै नेता बताउँछन्।
नुवाकोटकै बिन्दा र उषा भने ओलीका खास हुन सकेनन् र आज कारबाहीमा परे। बिन्दा स्थायी कमिटि सदस्य र उषा केन्द्रीय सदस्यबाट निलम्बनमा परेका छन्। छोरी कुटेर बुहारी तर्साउने ओलीको परियोजना अन्तर्गत उनीहरुमाथि कठोर कारबाही भएको नाम नबताउने शर्तमा एक एमाले नेताले बताए। आफ्नो आलोचना गर्ने प्रति असहिष्णु ओलीको कदमले भविष्यमा उनैलाई अफ्ठ्यारो पर्ने केहीको तर्क छ।