सोसल मिडिया
युनिकोड
एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयमा लाहाछाप नलगाउने र त्यसको वर्खिलापमा उत्रने तीन नेतालाई एमालेले कारवाही गरेको छ।
एमालेले भीम रावललाई चाँही घरबाटै धपाएको छ। संगठित सदस्य समेत नरहने गरि ओलीले उनलाई गोर्खे लौरी लगाएका छन्। आज बसेको सचिवालय बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।
त्यस्तै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टिकरण सोधेको थियो ।
पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टीकरण सोधेको थियो । उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै बुधबार बसेको सचिवालय बैठकले कारबाही गरेको हो।
रावललाई साधारण सदस्यबाटै मुक्त गरिएको छ। उनलाई एमालेले केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी तोकिएको थियो। तर, रावलले त्यो जिम्मेवारी स्वीकार गरेका थिएनन्। त्यसैले साधारण सदस्यता नै खोस्ने निर्णय गरेको एमालेले बताएको छ।
रावल एमालेका पूर्वउपाध्यक्ष पनि हुन्। उनले पछिल्लो चितवन महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीले सर्वसम्मत बन्ने ओलीको चाहनामा धक्का पुगेको थियो।
पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गाबारे पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै उनीहरुमाथि एमालेले कारबाही गरेको हो।