सोसल मिडिया
युनिकोड
मंसिर २० गते ४ दिने चीन भ्रमणबाट स्वदेश फर्किदा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमै भनेका थिए, ‘अब भारततिरको पनि भ्रमण हुन्छ, छिट्टै एरेन्ज हुन्छ ।’ त्यसको केही दिनपछि गृहजिल्ला झापा पुगेर एक कार्यक्रममा उनले भने, ‘चीन भ्रमणबाट थुप्रै कुरा भएका छन् । अब मान्छेले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु । त्यस भ्रमणबाट आश्चर्यजनक उपलब्धि हासिल हुनेछ ।’
तर, प्रधानमन्त्री ओलीको भारत भ्रमण मिलाउन युरोपबाट सिधै नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भने भारतीय पक्षबाट अनपेक्षित रुपमा चिसो स्वागत पाएकी छन् । भारतीय समकक्षी एस. जयशंकरसँग भेटेर यही पुष २५ गतेदेखि प्रधानमन्त्री ओलीको भारत भ्रमणको तालिका मिलाउने दाबी गरिएको थियो । तर, यही महिनाभित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित हुने कुनै छेकछन्द देखिएको छैन ।
शुक्रबार नयाँ दिल्लीमा मन्त्री राणाले नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गरिन् । सम्मेलन फाउन्डेसन फर इकोनमिक ग्रोथ एण्ड वेलफेयरले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको थियो । यो सम्मेलन दुई देशका व्यावसायिक क्षेत्रका नेता तथा लगानीकर्ताको संवाद मञ्च हो ।
सम्मेलनमा राणाले भनिन्–‘भारतसँगको हाम्रो सम्बन्ध उच्च मूल्यवान छ । हाम्रो सम्बन्ध सामाजिक–सांस्कृतिक रुपमा मात्र गहिरो छैन, व्यापार, वाणिज्य र कनेक्टिभिटीसम्म फैलिएको छ ।’ उनले नेपालमा लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आव्हान पनि गरिन् । सम्मेलनमा भारतीय पक्षका उच्च अधिकारीहरू भने उपस्थित थिएनन् । नीति आयोगका एक सदस्य अरविन्द वीरमणीले भाग लिएका थिए । पूर्वराजदूत, पूर्वप्रशासक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्व भने सम्मेलनमा देखिएका थिए ।
भदौको पहिलो साता पहिलो पटक परराष्ट्रमन्त्रीको रुपमा आरजु राणा भारत जाँदा भव्य स्वागत भएको थियो । राणाले नयाँ दिल्लीमा ‘प्रधानमन्त्री सरहको ट्रिट’ पाएको भन्दै व्यापक चर्चासमेत भयो । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल समेतलाई राखेर आरजुसँग विशेष भेटघाट गरेका थिए । समकक्षी जयशंकरसँग उनले द्विपक्षीय वार्ता गरेकी थिइन् । आरजुको त्यतिखेरको दिल्ली भ्रमणबारे अनेक अर्थ लगाइएको थियो ।
एकातिर उनले ओली सरकारप्रतिको भारतीय आशङ्कालाई सन्तुलन गरेको भनिएको थियो भने अर्कोथरिले ओलीप्रतिको असन्तुष्टि साङ्केतिक रुपमा व्यक्त गर्न राणालाई ‘उच्च महत्त्व’ दिइएको अर्थ निकालेका थिए । भारत ओली सरकारप्रति खासै सन्तुष्ट छैन र छिट्टै देउवा नेतृत्वको सरकार बन्ने प्रतीक्षामा छ भन्ने कूटनीतिक अर्थमा राणाको स्वागतलाई हेरिएको थियो ।
यसपटक भने आरजुको भ्रमणलाई लिएर दिल्लीमा कुनै उत्साह देखिएन । भारतीय पक्षले दिल्लीमा आरजुको उपस्थितिलाई बेवास्ता गर्न खोजेको प्रष्ट देखिन्छ । भारतीय पक्षसँग पहुँच बनाउन मन्त्री राणा आफैँले अथक प्रयत्न गरेकी थिइन् । तथापि उनले ‘चिसो प्रतिक्रिया’ पाइन् । भारतीय नेतृत्व परराष्ट्रमन्त्री राणासँग औपचारिक भेट गर्नसमेत अनिच्छुक देखिएको छ । राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस.जयशंकर, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री लगायतसँग भेट्ने प्रयत्न गरेकी थिइन । तर, यी कसैले पनि राणालाई भेट दिएनन् ।
घटनाक्रमबाट भारत प्रधानमन्त्री ओलीको भ्रमणका लागि इच्छुक नभएको देखिएको छ ।
परराष्ट्रमन्त्री राणालाई भेट समेत नदिएर भारतीय पक्ष नेपाल मामिलामा फस्न नचाहेको देखिएको छ । जानकारकाअनुसार राणासँगको भेटबाट भारत योजनावद्ध रुपमै तर्किएको हो । राणासँग भेट्दा नेपालमा अनेकथरी टिप्पणी हुने र पछि गएर सत्ता गठबन्धनमा कुनै गडबडी भए आफूमाथि नै आरोप आउने भन्दै भारत जानाजान पछि हटेको स्रोतको दाबी छ ।
यदि केहीगरी आन्तरिक कारणले नेपालमा गठबन्धन परिवर्तन भयो भने ओलीले बीआरआई गरेका कारणले मेरो सरकार ढल्यो भन्दै कार्ड खेल्न सक्ने भारतको बुझाई छ ।
अर्कातिर भारत आफैँ दक्षिण एसियाका देशसँगको सम्बन्धलाई लिएर लफडामा फसेको छ । बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्कामा भएका पछिल्ला परिवर्तनले भारत चिन्तामा देखिन्छ । यस्तो अवस्थामा नेपालको आन्तरिक झमेलामा फसेर भारतले थप जोखिम मोल्न नचाहेको कतिपय जानकार बताउँछन् ।
यता बीआरआई फ्रेमवर्कमा हस्ताक्षरले काङ्ग्रेसमा अन्तरविरोध चर्कने र त्यसले गठबन्धनमै असर पर्नसक्ने सम्भावना पनि भारतले आकलन गरिरहेको छ । ‘नेपालमा आफ्नै कारणले राजनीति तलमाथि हुँदा पनि आफूमाथि आरोप आउने गरेको विश्लेषणसहित भारत यसपटक आरजुसँग टाढा बस्न चाहेको हो ।’ स्रोत भन्छ ।