संविधान संशोधन गर्ने समय नभएको पूर्वप्रधानन्यायाधीश सुशीलाको ठहर

शनिबार, मंसिर २९, २०८१

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताएकी छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताइन्।

उनले संविधान संशोधनको बेला नभई उपयोगको बेला भएको बताइन्। अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनै पनि संविधानले देश विकास गर्न नसक्ने उनको भनाइ थियो।

उनले वर्तमान संविधानमा भाषा नमिलेको देखिए पनि सुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको उल्लेख गरिन्। शासक वर्गको नियत ठीक भए अहिलेकै संविधान राम्रो भएको उनले बताइन्।

पूर्वन्यायाधीश कार्कीले संविधान आफैमा पूरा कहिले पनि नहुने बताइन्। उनले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको धारणा राखिन्।

उनले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानव अधिकारको उल्लंघन भएको बताइन्।
 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्