सोसल मिडिया
युनिकोड
निजामती सेवालाई राजनीतिक नेतृत्वले बिरालाले मुसो खेलाएको भन्दा पनि चर्को खेलाउने गरेको अनेक दृष्टान्तबाट बुझ्न सकिन्छ।
चौताराको मादल बनेको कर्मचारी सरूवाको वेथितीका बारेमा हजार जिब्रा भएको शेषनागलाई पनि वर्णन गर्न धौधौ हुन्छ।
हालसालै घरजान ८ दिन मात्रै बाँकी रहेका एक सचिवको अड्डासार गरेर प्रधानमन्त्रीले कर्मचारीको मनोबलमाथी तातोपानी खन्याईदिएका छन् । र, पानी चाहिँ मुख्यसचिवले भक्भकी नै उमालिदिए।
२८ वैशाखमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेल अवकाशमा जाँदैछन्, तर उनको प्रचण्ड सरकारले २० वैशाखमा सरुवै ठोकिदियो। उनलाई सरुवा गर्दै कृषि विकास सचिवको जिम्मेवारी दिएको छ ।
आजसम्म उनले कृषि सचिवका रुपमा पदबहाली गरेका छैनन् । र, त्यहाँ हाजिर नगरी घर जाने मनसाय बनाएका छन् ।
मुख्यसचिवले कर्मचारीको पक्षमा भन्दा पनि राजनीति नेतृत्वको पक्षमा काम गर्नाले कर्मचारीको मनोबलको पारो स्वात्तै तलै झर्ने चरणमा छ। कर्मचारीका पनि मठाधिशलाई बोकेर अरूमाथी तीर चलाउँदै मुख्यसचिवले प्रशासनलाई थेत्तरो बनाएका छन् ।
आफ्नालाई च्याप्ने र अरूलाई ठोक्ने मामिलामा मुख्यसचिवको ज्यादा रूची हुने गरेको प्रधानमन्त्री कार्यालयका एक सहसचिवले बताए।
घर जाने कर्मचारीको सरुवा गर्नुलाई ‘मुख्य सचिवको अपरिपक्वाता’को परिणाम भनेर पूर्वमुख्यसचिवले नै भनेका छन् । हुन पनि मुख्यसचिव बैकुण्ठ अर्यालले उपराष्ट्रपति कार्यालय पुर्याईएका सचिव मुकुन्द निरौलालाई आफै गल लगाएर सामान्य प्रशासन पुर्याए। पर्यटनका दीपक काफ्लेलाई हुत्याएर आफ्नो हजुरिया गर्ने गणेश पाण्डेलाई मन्त्रीले नमान्दा नमान्दै पर्यटनमा सरुवा गरिदिए।