Dashain Banner
Dashain Banner

प्रेम राईलाई घनश्यामै बेस, भण्डारीको रोजाईमा सधैँ कांग्रेस

बुधबार, साउन १६, २०८१

केपी केपी नेतृत्वको सरकारले एकै पटक बग्रेल्ती सचिवको सरुवा गर्यो। दुई दर्जनमा दुई नै कम सचिवको ठाउँ सारी गर्दा आफू अनुकुलका सचिव रोज्न केही मन्त्री अपहत्ते गरेर लागे भने केहीले क्याबिनेट बस्ने दिन मात्र चाल पाए। तर सचिव सरुवाको खेलोमेलो भने साता दिन अघिबाटै चलेको थियो। 

सहसचिव हुँदा लामै समय पर्यटन मन्त्रालयमा बसेका घनश्याम उपाध्याय फरासिला र इस्यु बुझी हाल्ने भनेर चिनिन्छन्।  जागिर बाहेकका अतिरिक्त जिनिसमा ज्यादा नरमाउने भनेर प्रचार गरिएका घनश्यामको नाडी अख्तियारका प्रमुख आयुक्तले पर्यटन सचिव छँदै छामिसकेको बताइन्छ। पर्यटनबाट गृह पुगेका उनी काठमाडौँको सिडिओ भए। 

सिडिओ हुँदै सचिव बढुवा भएर केही समय प्रदेश बसे। काठमाडौँको सिडिओ हुँदा रवि लामिछाने संग हिमचिम बढाएका उनी प्रदेश बाट लामिछानेका उपसभापति डोल अर्यालले सम्हालेको मन्त्रालय श्रममा तानिए। र अहिले श्रम मन्त्रीको रोजाईमा पर्दा पर्दै प्रेम राईले चाहेपछि टंगालको रातो घरमा पुगेका छन्। 

अघिल्लो पटक श्रम मन्त्री छँदा शरदसिङ्ग भण्डारीले सचिव भएर पनि मन्त्रालय चलाउन नपाएका केवल भण्डारीलाई योजना आयोग बाट तानेर ल्याए। सचिवको पाँच बर्षे कार्यकालमा जम्मा जम्मी छ महिना मात्र केवलले शरदका कारण मन्त्रालय चलाउन पाए। उनी श्रम मन्त्रालय बाटै घर गएको उति लामो समय भएकै छैन। राईले घनश्याम लैजाने भएपछी शरदले नयाँ सचिव खोज्दै जाँदा निरौला सम्म पुगेको श्रोतको भनाई छ। 

पंचायतकै मन्त्री भण्डारी त्यसपछि लामो समय कांग्रेस भए। कांग्रेस छोडेर विभिन्न पार्टीमा ओत लागेका उनी अहिले लोसपामा छन्। उनले यो अघि पनि कांग्रेस पृष्ठभूमिका केवललाई मन्त्रालयमा ल्याए। मुकुन्द निरौला पनि कांग्रेस भनेरै चिनिएका व्यक्ति हुन्। केवल समेतको सल्लाहमा निरौलालाई श्रममा तानिएको बुझिएको छ। निरौला गृह सचिव हुन लागिपरेको भनिए पनि श्रममा गरेर थन्किएका छन्। 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्