Dashain Banner
Dashain Banner

एक दर्जन सचिव र तीन दर्जन सहसचिवको विदेशी नागरिकता, कारबाही गर्न उठ्यो कुरा

बुधबार, जेठ ३०, २०८१

नेपाल सरकारको दानापानी खाएर विदेशी नागरिकता लिन रहर गर्ने विशिष्ट श्रेणीका कर्मचारीलाई पाता कस्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा सत्ता पक्षका सांसदले जोडदार माग गरेका छन्। 

नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिन रहर गर्ने विशिष्ट श्रेणीका कर्मचारीलाई कारबाही गरिनुपर्ने माग एमाले सांसद रघुजी पन्तले गरेका हुन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाउन  खोजे पनि प्रधानमन्त्री कार्यालयमा पत्र अड्किएको भन्दै उनले त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्न माग गर्दै संसद घन्काएका छन्। 

‘नेपाल सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिन पनि रहर लाग्ने महानुभाव को रहेछन् त्यो हामीले चिन्न पाउनुपर्‍यो,’ बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका सांसद पन्तले भने, ‘त्यो अख्तियारको कारबाहीमा प्रशासनले छिटो कारबाही गरेर संसदलाई जानकारी दिइयोस्।’

पिआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर अख्तियारले लेखेको चिठी प्रधानमन्त्री कार्यालयमा रोकिएको भन्दै उनले रोष प्रकट गरे। ‘त्यो चिठी बल्लबल्ल फेला परेको छ रे, कारबाहीका लागि लेखिएको छ रे,’ उनले भने। वहालवाला एक दर्जन सचिव र तीन दर्जन सहसचिवको विदेशी नागरिकता रहेको प्रमाण अख्तियार पुगेको छ।  ति सबैलाई मेलैमेसो कारबाही हुने श्रोतको दाबी छ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्