मोदीसँगको भेटपछि प्रधानमन्त्री वालेन्द्रले के-के गर्दैछन् सम्झौता ?

सोमबार, मंसिर ७, २०८३

दुईदिने राजकीय भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा गएका शाह र मोदीबीच हुने वार्तालाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले आज मोदीसँग एक्लाएक्लै तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा व्यापार, पारवहन, ऊर्जा सहकार्य, हवाई सम्पर्क विस्तार, पूर्वाधार विकास र लगानी प्रवर्द्धनलगायतका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।

हवाई प्रवेश मार्ग र ऊर्जा व्यापारमा चासो

नेपालका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनसँग जोडिएको थप हवाई प्रवेश मार्गको विषय महत्त्वपूर्ण छ । भारतसँगको वार्तामा पश्चिमतर्फबाट नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय उठ्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, नेपालबाट भारतमा विद्युत् निर्यात विस्तार गर्ने, भारतीय प्रसारण सञ्जाल प्रयोग गरी बंगलादेशसम्म विद्युत् व्यापार बढाउने र सीमापार ऊर्जा पूर्वाधार सुदृढ गर्ने विषय पनि द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र हुन् ।

पुनर्निर्माण र आर्थिक सहकार्य

बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधारको पुनर्निर्माणमा भारतीय सहयोग जुटाउने विषय पनि भ्रमणको सम्भावित एजेन्डाका रूपमा चर्चामा छ । पुनर्निर्माणका लागि करिब दुई अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान प्रस्ताव गरिने चर्चा भए पनि त्यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरण, सीमा नाकाको स्तरोन्नति, पारवहन सुविधा विस्तार तथा भारतीय लगानी आकर्षित गर्ने विषयमा समेत छलफल हुने अपेक्षा छ ।

भ्रमणको तयारीबारे प्रकाशित विवरणअनुसार नेपालले करिब दुई अर्ब डलरको आर्थिक सहयोग प्याकेज, थप हवाई प्रवेश मार्ग तथा सीमापार पूर्वाधार विकासमा प्रगति खोजेको छ । यद्यपि, यी प्रस्तावमा कस्तो सहमति जुट्छ भन्ने आजको वार्तापछि मात्रै स्पष्ट हुनेछ । 

परामर्शबिनाको भ्रमण, नतिजामाथि चासो

प्रधानमन्त्री शाहले भ्रमणअघि पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका शीर्ष नेताहरूसँग औपचारिक परामर्श नगरेको विषयले राजनीतिक बहस निम्त्याएको छ । विदेश नीतिजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति आवश्यक हुने तर्क उठिरहेका बेला सरकारले भने आर्थिक तथा विकास साझेदारीलाई प्राथमिकतामा राखेको छ ।

आजको वार्तापछि विभिन्न समझदारीपत्र आदानप्रदान र संयुक्त परियोजनासम्बन्धी घोषणा हुने अपेक्षा छ । भारतीय प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रमसमेत छ । 

प्रधानमन्त्री शाहको छोटो भारत भ्रमणबाट हवाई मार्ग, ऊर्जा व्यापार र पुनर्निर्माण सहयोगमा कस्तो ठोस उपलब्धि हासिल हुन्छ भन्नेमा चासो केन्द्रित भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ०७:३१
प्रतिक्रिया दिनुहोस्