राप्रपा केन्द्रीय सदस्य नै महाधिवेशन प्रतिनिधिमा पराजित, काठमाडौँ-१ ले सक्यो काम

शनिबार, मंसिर ५, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी आठौँ महाधिवेशनको चटारोमा होमिएको छ । मंसीर २६ देखि २८ सम्म काठमाडौँमा हुने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको काम शुरु भएको छ ।

मंसीर ४ गतेदेखि १० गतेसम्ममा महाधिवेशन प्रतिनिधि चयन गरिसक्नु पर्ने कार्यतालिका बमोजिम काठमाडौँ क्षेत्र नम्बर १ ले महाधिवेशन प्रतिनिधि छनौट गरिसकेको छ । राप्रपा काठमाडौँ-१ ले मंसीर ५ गते निर्वाचन गरेरै महाधिवेशन प्रतिनिधि छनौट गरेको हो । 

राप्रपा काठमान्डौ क्षेत्र नं १ का दुवै प्रदेशको महाधिवेशन प्रतिनिधि छनौट गरेको राप्रपाले क्षेत्र क मा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरेको छ भने ख तर्फ महिला कोटामा निर्वाचन गरेरै महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको हो । महिला तर्फको निर्वाचनमा वहालवाला केन्द्रीय सदस्य मीना सुवेदी पराजित भएकी छन् । उनको पक्षमा जम्मा सात मत मात्र परेको थियो ।

निर्वाचित हुनेहरुमा प्रभा शिवाकोटी,प्रतिभा थापा (आरजु) र सुनीता कोइराला छन् । प्रदेश निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । काठमाडौँ निर्वाचन क्षेत्र-१ बाट १८ जना महाधिवेशन प्रतिनिधि चयन भईसकेका छन् ।

राप्रपा काठमाडौँ क्षेत्र-१ को प्रदेश क बाट ४० वर्ष मुनिका प्रतिनिधिमा २० वर्षिय ईन्जिनियर आस्ना वली र २४ वर्षको कोरियो ग्राफर आकाश विराजी सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् । त्यस्तै वरिष्ठ कलाकार मदनदास श्रेष्ठ पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । श्रेष्ठ काठमाडौँ महानगरको मेयरमा निर्वाचन उठिसकेका वरिष्ठ राजनीतिज्ञ समेत हुन् ।

प्रदेश क बाट राप्रपाका केन्द्रीय सहकोषाध्यक्ष समेत रहेका समाजसेवी तथा वरिष्ठ गीतकार शोभित उप्रेती, राप्रपा केन्द्रीय सदस्य समेत रहेका मुख्यसचिव प्राध्यापक डाक्टर जयन्तनाथ खनाल, डम्बर शिवाकोटी,रामेश्वर श्रेष्ठ, केशव कटवाल लगायत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

त्यस्तै पूर्व मन्त्री समेत रहेकी प्राध्यापक डाक्टर कान्ता भट्टराई पनि निर्विरोध महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् । विवादरहित तवरले छरितो गरि महाधिवेशन प्रतिनिधि चयनको कार्यक्रम सुरु भएकै भोलिपल्ट महाधिवेशन प्रतिनिधि छनौटको काम सकेको राप्रपा काठमाडौँ-१ ले उदाहरणीय सन्देश प्रवाह गरेको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  २१:१६
प्रतिक्रिया दिनुहोस्