डेढ दुई घण्टा सम्म प्रधानमन्त्री वालेन्द्र र रास्वपा सभापति रविले के-के गरे कुरा ?

शुक्रबार, मंसिर ४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा राष्ट्रिय हित ख्याल गर्न सुझाव दिएका छन्।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा झण्डै तीन घण्टा भएको छलफलमा उनले सो सुझाव दिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

‘राष्ट्रिय हितलाई केन्द्रमा राख्दै नेपाल–भारत सम्बन्धलाई अझै मजबुत बनाउने र विश्वासको वातावरण थप राम्रो बनाउने कुराहरूमा भ्रमण केन्द्रित होस् भनेर सुझाव, सल्लाह र शुभकामना पनि दिनुभयो’ उनले भने। 

प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतले उच्च प्राथमिकता दिएको यो भ्रमणका विषयमा छलफल गर्न शाहले नै सभापतिसँग समय मागेको प्रवक्ता खरेलले बताए। निर्वाचन आयोगमा रहेकै बेला प्रधानमन्त्री शाहले रविलाई फोन गरेका थिए।

‘आज सम्मानीयज्यूले पार्टी सभापतिज्यूलाई एकचोटि भेट्न इच्छा व्यक्त गर्नुभयो। यही भारत भ्रमणकै सिलसिलामा,’ सांसद समेत रहेका प्रवक्ता खरेलले थपे, ‘त्यसपछि आयोगको छलफल सकेर सभापतिज्यूले  सिंहदरबार आउँछु नि त भनेर उनी सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाह भेट्न जानुभयो, उहाँहरूबीच डेढ दुई घण्टा छलफल भयो।’  

भेटको सुरुमै प्रधानमन्त्री शाहले भारत भ्रमणबारे जानकारी गराए। ‘प्रधानमन्त्रीले भारत भ्रमणको कार्यतालिका र एजेन्डाको सन्दर्भमा पार्टी सभापतिलाई व्रिफिङ गर्नुभयो। तालिका र एजेन्डाको सन्दर्भमा पनि,’ उनले भने। 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा शुक्रबार संसदमा रहेका ६ वटा दलसँग छलफल गरेको थियो।

प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक भारतको औपचारिक राजकीय भ्रमण गर्दैछन्। भ्रमणका क्रममा हेक्का राख्नुपर्ने विषयबारे पनि सभापति लामिछानेले सुझाव दिएका हुन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  २०:४८
प्रतिक्रिया दिनुहोस्