सोसल मिडिया
सम्पर्क
युनिकोड
यही मंसिर ६ र ७ गते हुने प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ३४ जना सहभागी हुने भएका छन्।
शुक्रबार भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रालयका सचिव अमृतबहादुर राईले भ्रमण टोलीमा ३४ सदस्य रहने जानकारी दिए।
साथै थप ५२ जना निजी क्षेत्रबाट व्यवसायीको टोली र पत्रकारको टोली रहनेछ। यद्यपि व्यवसायी र पत्रकारको खर्च स्वयमले व्यक्तिले व्यहोर्ने पनि सचिव राईले जानकारी गराए।
उनकाअनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
उक्त वार्तामा दुई देशबीचको आर्थिक सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुने राईले बताए। उनकाअनुसार भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ।
नेपालका लागि भारत ठूलो र महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै उनले व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच व्यापक छलफल हुने बताए। त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।