सोसल मिडिया
सम्पर्क
युनिकोड
चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात नब्बे दिनमा रेमिट्यान्स २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार असोज मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस्तो तथ्यांक पेस गरेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । २०८३ असोज महिनामा मात्र विप्रेषण आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २९.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ६२ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख २३ हजार ४५९ र ७७ हजार २५७ रहेको थियो ।