वडा सदस्यको हस्ताक्षर आफैले गरिदिएपछि पालिका अध्यक्षको हातमा लाग्यो हत्कडी

बुधबार, मंसिर २, २०८३

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा सञ्चालन तथा नीति तथा कार्यक्रम पारित गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं सूचना अधिकारी वेदप्रसाद गौतमले दिएको जानकारीअनुसार मंगलबार दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट ५५ वर्षीय अध्यक्ष रायलाई पक्राउ गरिएको हो।

मिति २०८० साल असार १० गते आयोजित गाउँसभामा उपस्थित नै नरहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरेर उक्त गाउँसभा सम्पन्न भएको देखाउनुका साथै आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा औपचारिक उजुरी दर्ता भएको थियो। पालिका उपाध्यक्षको उजुरीपछि उनी समातिएका हुन् ।

प्राप्त उजुरीका आधारमा प्रहरीले सरकारी कागजात किर्तेसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी घटनाको गहिरो अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानको क्रममा सर्लाही जिल्ला अदालतबाट मिति २०८३ साल असोज १६ गते नै पक्राउ पुर्जी (अनुमति) जारी भइसकेको थियो। सोही कानुनी प्रक्रिया र पक्राउ पुर्जीका आधारमा प्रहरीले अध्यक्ष रायलाई हालै नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका गाउँपालिका अध्यक्ष रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको र कानुनबमोजिम आवश्यक कारबाही अगाडि बढाइने डिएसपी गौतमले जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्