एमालेको राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंमा, महाधिवेशनभन्दा ठूलो भेला

बुधबार, मंसिर २, २०८३

नेकपा एमालेको राष्ट्रिय भेला आज (बुधबार) देखि काठमाडौंमा सुरु हुँदैछ। काठमाडौंको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा आज र भोलि गरी दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ वटा कामलाई एकजुट भई कार्यान्वयन गरी सफल बनाउने उद्देश्यका साथ जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु यो भेलाको मुख्य उद्देश्य रहेको एमालेले जनाएको छ।

एमालेका पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टी पंक्तिमा राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा संगठनात्मक एकता सुदृढ बनाउन तथा मुलुकमा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्न यो भेला आयोजना गरिएको हो।

राष्ट्रिय भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसमेत गरी कुल तीन हजार ४१४ जनाको सहभागिता रहनेछ। एमालेको पार्टी जीवनमा पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संसदीय फाँटतर्फ संघीय संसद्देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एकै ठाउँमा सहभागी हुनेगरी पहिलोपटक यति ठूलो राष्ट्रिय भेला आयोजना गरिएको छ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू, प्रवासबाट समेत प्रतिनिधिहरू तथा पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरूको सहभागिता रहनेछ।

त्यसैगरी, जनप्रतिनिधितर्फ संघीय सांसदहरू, प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरू, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू, जनसंगठनका प्रतिनिधिहरू, विभिन्न उपसमितिमा रहेका नेता तथा कार्यकर्ता एवं भेला व्यवस्थापनमा खटिने स्वयम्सेवकहरू पनि सहभागी हुनेछन्।  संख्याको दृष्ट्रिकोणले यो राष्ट्रिय भेला महाधिवेशनभन्दा पनि ठूलो र प्रतिनिधित्वको हिसाबले सबै क्षेत्र समेटिएको छ।

भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा, पार्टीका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामसहितको विस्तृत वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रदान गर्ने बताइएको छ।

साथै, पार्टीका वरिष्ठ नेताबाट मुलुकको समसामयिक विषय र पार्टीको कार्यभारसम्बन्धी विशेष सम्बोधन हुने कार्यक्रम पनि रहेको छ। भेलाका क्रममा उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्त्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नेछन्।

भेलामा सहभागी हुने प्रतिनिधिहरूले आ-आफ्नो आवासको व्यवस्था स्वयं गर्नुपर्ने व्यवस्था गरिएको छ भने भेला सञ्चालनका लागि आवश्यक हल व्यवस्थापन र आन्तरिक सुरक्षा प्रबन्धलाई अत्यन्त सुव्यवस्थित बनाइएको एमालेले जनाएको छ।

यसअघि मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका सबै एजेन्डा अनुमोदन गरिसकेको छ। एमालेले यो राष्ट्रिय भेलालाई आगामी स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक संगठन सुदृढीकरणका लागि एक महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०७:५६
प्रतिक्रिया दिनुहोस्