राष्ट्र बैंकमा विभिन्न पदमा गरि पाँच दर्जनका लागि जागिर खुल्यो, कुन तहमा कति ?

शुक्रबार, कात्तिक २७, २०८३

नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षामार्फत कर्मचारी पदपूर्तिको लागि विभिन्न पदमा ६१ जनाको आवेदन आह्वान गरेको छ ।

बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार (कात्तिक २७ गते) प्रकाशन गरेको सूचना अनुसार, प्रशासन सेवातर्फ अधिकृत र सहायक दुवै तहमा २६/२६ जनाका लागि आवेदन आह्वान गरिएको छ । सहायक द्वितीयको हकमा लोक सेवा आयोगबाट एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र समेत दरखास्तसाथ पेस गर्नुपर्ने उल्लेख छ ।

यस्तै, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) मा तीनजना, सहायक निर्देशक (वाणिज्य कानुन)मा दुईजना र सहायक निर्देशक (सूचना प्रविधि) मा चारजना गरी अन्य विषयगत पदमा पनि दरखास्त खुलाएको छ ।

योग्य नेपाली नागरिकहरूले यही कात्तिक २७ गतेदेखि मंसिर १७ गतेसम्म विद्युतीय (अनलाइन) माध्यमबाट फाराम भरी आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुरमा आवेदन दिने अन्तिम मिति भने मंसिर २४ गतेसम्म तोकिएको छ । इच्छुक आवेदकले अनलाइनमार्फत तोकिएका कागजातहरू र दस्तुर बुझाउनुपर्नेछ ।

आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य अपलोड गर्नुपर्ने उल्लेख छ । विदेशी शिक्षण संस्थाबाट प्राप्त शैक्षिक उपाधिको हकमा सम्बन्धित निकायबाट समकक्षता निर्धारण गरिएको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

सहायक (सहायक द्वितीय) पदमा आवेदन दिने उम्मेदवारहरूले लोक सेवा आयोगको एकीकृत परीक्षा प्रणाली अन्तर्गत सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य संलग्न गर्नुपर्नेछ ।

सर्वोच्च अदालतको परमादेशको आदेशबमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी व्यवस्था भएपश्चात् सोही अनुसार पदपूर्ति गरिने बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले कार्यक्षमता मूल्यांकन र आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा ठूलो संख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

राष्ट्र बैंकको पूरा सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १४:४३
प्रतिक्रिया दिनुहोस्