Tihar Banner
Tihar Banner

गगनको नामै उच्चारण नगर्न भन्दै कांग्रेसका पूर्वमहामन्त्री शशांकले किन गरे आग्रह ?

आइतबार, कात्तिक २२, २०८३

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गगन थापालाई गाली नगर्न आग्रह गरेका छन्। 

कांग्रेसका निर्वमान सभापति शेरबहादुर देउवा पक्षको १५औं महाधिवेशन आयोजक समितिका संयोजक समेत रहेका डा. कोइरालाले गगन थापालाई भिलेन बनाउन नहुने बताए। कांग्रेसका लागि गरिबी, अशिक्षा र बेरोजगारी नै मुख्य चुनौती रहेको उनको भनाइ थियो। 

‘फिल्ममा हिरोले भिलेनलाई मारेजस्तै हामी पनि राजनीतिक भिलेन खोजिरहेका छौँ र त्यो पात्रका रूपमा गगन थापालाई देख्छौँ। तर त्यो हाम्रो भ्रम हो,’ डा. कोइरालाले भने, ‘हाम्रो असली भिलेन गरिबी, अशिक्षा र बेरोजगारी हो। तिनको विरुद्धमा लड्नु नै आजको आवश्यकता हो।’

शनिबार काठमाडौंमा शनिवार आयोजित देउवा पक्षको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले थापाको आलोचनाले उल्टै उनको चर्चा र महत्त्व बढाइरहेको बताए। 

‘हामीले गगन थापालाई यति धेरै महत्त्व किन दिन्छौँ? तपाईं जति गाली गर्नुहुन्छ, उनको महत्त्व त्यति नै बढ्छ। त्यसैले उनको कुरै नगरौँ,’ डा. कोइरालाले भने। 

राजनीतिमा अरुलाई खराब देखाउने गरिएको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने उनको भनाइ थियो। ‘अरूलाई कुरुप देखाएर आफू सुन्दर बन्न सकिँदैन,’ उनले भने। 

महाधिवेशनलाई पार्टीको भविष्य उजागर गर्ने ऐतिहासिक कडीको रूपमा लिनुपर्ने उनले बताए। १५औँ महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिन कार्यकर्तालाई आग्रह गर्दै अधिवेशनको सफलतामा सहभागिताको ठूलो भूमिका रहने उनको भनाइ थियो। 

सुरुवाती चरणमा देखिएको उत्साहजनक उपस्थितिले अधिवेशन सफल भएको आभास दिएको उनले बताए। पार्टीका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र तल्लो तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउन सक्रिय हुनुपर्नेमा उनले जोड दिए।  

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्