सोसल मिडिया
सम्पर्क
युनिकोड
संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चारजनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
समितिको शनिवार बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे तथा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो।
न्यायपरिषद्ले गत असोज २० गते उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित चारैजना न्यायाधीशको सुनुवाइ प्रक्रिया कात्तिक १९ गतेदेखि अघि बढाएको थियो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध कुल १३ वटा उजुरी परेका थिए। उजुरीमाथि अध्ययन तथा संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ।