Dashain Banner
Dashain Banner

देउवाको दौराको फेर समात्दा हारेका जीवनलाई गगनको अँगालो कसाई फाप्यो

मंगलबार, असोज २७, २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन् । १४औँ महाधिवेशनमा यही क्लस्टरबाट शाही बद्री पाण्डेसँग पराजित भएका थिए । तर, यसपटक भने शाहीले सहजै सहमहामन्त्री जितेका हुन् ।

शाहीले तीन हजार ९०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी जनकराज गिरी निकै पछि परे । उनले एक हजार ३७० मत मात्रै ल्याए ।

२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा शाही २७८ मतान्तरले पराजित भएका थिए । तर, यसपटक उनी दुई हजार ५३६ मतान्तरले विजयी भए । राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरे ।

शाही लामो समय पूर्वसंस्थापन पक्षका नेता हुन् । केन्द्रमा देउवा र कर्णालीमा उनी नेता पूर्णबहादुर खड्कानिकट हुन् । यसपटक विशेष महाधिवेशनमा सुरुमा नजोडिए पनि महाधिवेशनको मुखमा शाही विशेषबाट आएको नेतृत्वसँग जोडिएका थिए ।

विशेषको नेतृत्व स्वीकारेका उनी फराकिलो मतान्तरले विजयी भएका हुन् । जबकि १४औँ महाधिवेशनमा देउवा सभापति र खड्काले उपसभापति जित्दा सोही समूहका नेता शाही पराजित भएका थिए ।

यसपटक भने उनले निकै सहज रूपमा सहमहामन्त्री जिते । शाही कर्णालीका पूर्वमुख्यमन्त्री र नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १३:३३
प्रतिक्रिया दिनुहोस्