सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई तलमाथि पार्नेसम्मको धाकधम्की दिने नवीनराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँचतारे होटलमा उपरखुट्टी लगाएर बसिरहेका बस्नेतलाई शुक्रबार घाम अस्ताएपछि प्रहरीले हत्कडी लगाएको हो । प्रेम राईलाई धम्क्याएको कसुरमा नभएर १३ वर्ष पुरानो रक्तचन्दन तस्करी काण्डका अभियुक्तका रूपमा उनलाई प्रहरीले समातेको हो ।
यति बेला डिल्लीबजार जेलमा सुस्ताईरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई तान्त्रिक खोजिदिने बस्नेतको जेल बसाईको योग परेको छ ।
१३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा भक्तपुरका बस्नेत पक्राउ परेपछि अरु धेरै विषय खुल्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को दाबी छ ।
यस्तो थियो घटनाको नालीबेली
जिल्ला प्रहरी परिसर, काठमाडौंले १८ चैत ०६९ मा गुह्येश्वरीबाट २२६ केजी रक्तचन्दन बरामद गरेको थियो । बा१ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर रक्तचन्दन तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
रक्तचन्दनसहित बसचालक सिन्धुलीका भीमबहादुर सुनुवार र सहचालक सर्लाहीका खेमबहादुर सिंह पक्राउ परे । जिल्ला वन कार्यालयमार्फत सुनुवार सिंह र नवीन बस्नेतविरुद्ध मुद्दा दायर भएकोमा ९ वैशाख ०७० मा जिल्ला अदालतले मुद्दाको फैसला गरिसकेको छ ।
अदालतले गाडीका चालक र सहचालकलाई जनही ६–६ महिना कैद र तीन लाख ६१ हजार ६ सय रुपैयाँ जरिवाना सुनायो । भाडाको गाडी पनि जफत हुने ठहर गर्यो । तर, मुख्य आरोपी मानिएका बस्नेतको भने वतन नखुलेको भन्दै तामेलीमा राखियो । बस्नेतले नै बालुवा ओसार्न भन्दै मिनीट्रक बोलाएर बालुवाभित्र रक्तचन्दन लुकाएर तस्करीको प्रयास गरेको अनुसन्धानमा खुलेको थियो । तर, उनको स्थायी ठेगाना पत्ता नलागेको भन्दै काठमाडौं महानगरपालिका– १६ बस्ने भनेर अभियोग दर्ता गरिएको थियो । उनको हकमा जिल्ला अदालतका तत्कालीन न्यायाशीश रमेशराज पोखरेलको इजलासको फैसलामा भनिएको छ, ‘निज नवीन बस्नेतको वास्तविक वतन खुलाई आएमा बाँकी कारबाही हुन सक्ने नै हुँदा निजका हकमा प्रस्तुत मुद्दा जिल्ला अदालत, नियमावली, २०५२ को नियम १९ (क)बमोजिम तामेलीमा राखिएको छ ।’
त्यसवेला भीमबहादुर र खेमबहादुर दुवैले प्रस्ट रूपमा सो बालुवा ओसार्न कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतले लगाएको भनेर बयानमा बताएका छन् । बस्नेत त्यतिवेला बालुवाको डिपो चलाउने गर्दथे । चालक भीमबहादुरले बयानमा भनेका छन्, ‘मिति २०६९÷१२÷१६ गते कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतले फोन गरी बालुवा लिएर जानुपर्यो भनी बोलाउनु भएको थियो । मैले निजलाई मेरो लाइसेन्स छैन भन्दा निजले सो बालुवा जोरपाटीबाट करिब दुई सय मिटरजति भित्र लाने हो, केही फरक पर्दैन भनेका थिए । गाडी भएको ठाउँमा जाँदा गाडी लोड भइसकेको थियो । म गाडी लिएर नवीन बस्नेत बाइकमा अघि–अघि म पछि–पछि पिछा गर्दै गएँ । बिचबाटोमा प्रहरीले गाडी चेक गर्दा जिल्ला विकासलाई कर तिरेको कागज नभएकाले प्रहरीले गाडीलाई बरामद गर्यो । पर्सिपल्ट मात्र गाडी फिर्ता भयो । सोही गाडी लिएर म गुह्येश्वरी हुँदै गोठाटारतर्फ लागेँं । गुह्येश्वरीमा सिभिलमा रहेका प्रहरीले गाडीमा खोजतलास गर्दा बालुवामुनि लुकाइराखेको रक्तचन्दन भेट्टाए । गाडीमा रक्तचन्दन भएको कुरा मलाई थाहा थिएन । यस अपराधमा मुख्य संलग्नता नवीन बस्नेतको छ । निजले हामीलाई काम लगाउने बहानामा फसाएका हुन् ।’ गाडीधनी रमेश प्रजापतिले पनि कारोबार गर्नेलाई कारबाही हुनुपर्ने बयान गरेका थिए । तर, मुख्य कारोबारीलाई केही नभई उनको गाडी भने जफत भएको थियो । त्यतिवेला उनलाई पक्रा गरेर छाडिएको प्रहरी स्रोत बताउँछ । पछि चलखेलका आधारमा बस्नेतको वास्तविक ठेगानासमेत नराखी वन कार्यालयलाई अन्य दुई जना बझुाइएको थियो । बस्नेत हाल क्षमादेवी कन्ट्रक्सन, सान्दर्भिक निर्माण सेवालगायत कम्पनीका मालिक छन् । अकुत सम्पत्ति आर्जनको विषयमा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि उनीमाथि छानबिन गरिरहेको छ। गत मंगलबार उनको घरमा पनि विभागले खानतालासी गरेको थियो।
बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको थियो।