सोसल मिडिया
युनिकोड
सुशासनको जलपधारी वर्तमान सरकारले सचिव बढुवामा पहिलो पटक उल्टोपाल्टो गरेको छ। यस अघिको सचिव बढुवामा पहिलो नम्बरमा बढुवा सिफारिश भएका सहसचिवलाई बढुवा गरिदै आएको भए पनि सरकारले तेश्रो नम्बरका सहसचिवलाई सचिवमा बढुवा गरेको हो। तीन जना मध्येका एक जनालाई सचिव बढुवा गर्न बाधा नपरे पनि यस अघिको एक नम्बर नजिरलाई यो पटक भने लत्याईएको हो।
प्राविधिक सचिव बढुवाका लागि लोकसेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेलबासेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस गरेको थियो। सिफारिशको तेश्रो नम्बरका मैनालीले सचिवमा बढुवा हुने अवसर मात्र पाएनन्, पूर्वाधार विकास मन्त्रालयमै पदस्थापन हुने अवसर पनि पाए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक सचिवमा बढुवा मैनालीलाई बढुवा गर्ने निर्णय गरेको हो।
गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएसँगै पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त भएको थियो। ईन्जिनियर समेत रहेका पूर्वाधार विकास मन्त्री सुनील लम्साल सँगको वर्षौ अगाडीदेखिको हिमचिमका कारण सरकारले यो पटक सचिव बढुवाको पहिलो नम्बरलाई थाती राखेर तेश्रो नम्बरलाई काखी च्यापेको चर्चा चल्न थालेको छ।