संघीय संसदको चालु अधिवेशन असोज १६ गते राती १२ बजेदेखि अन्त्य

बिहीबार, असोज १५, २०८३

सरकारले संघीय संसदको चालु अधिवेशन १६ असोजको राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संविधानअनुसार संसदकाे अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । 

चालु अधिवेशन गत २८ वैशाखदेखि सुरु भएको थियो । यस अवधिमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित भएका छन् ।

त्यस्तै, अध्यादेश प्रतिस्थापनका छ वटा विधेयक पारित भई प्रमाणीकरण भएका छन् । वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि पारित तथा प्रमाणीकरण भएका छन् ।

चालु अधिवेशनका क्रममा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपत्‌सम्बन्धी अध्ययनका लागि विशेष समिति गठन गरेको थियो ।

प्रतिनिधिसभामा १० भन्दा बढी विधेयक भने विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन् । आज र भोलि पनि संसद बैठक बस्ने कार्यसूची छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  ०८:४३
प्रतिक्रिया दिनुहोस्