प्रधानमन्त्री शाह सट्याकसुटुक शैलीमा अमेरिका उड्ने, परम्परा पूरै तोड्ने

मंगलबार, असोज ६, २०८३

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाह वालेनले विदाइको परम्परागत शैली तोड्ने भएका छन् । 

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर्ने उनको निजी सचिवालयले जनाएको छ ।

अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक विदाइ समारोहको कुनै कार्यक्रम तय भएको छैन् । उनी बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआईपी वे हुँदै विमानतर्फ जानेछन् । 

प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले भनिन्,‘प्रधानमन्त्रीज्यूज दिनभर सिंहदरबारमै व्यस्त हुनुहुन्छ, महत्त्वपूर्ण भेटघाटहरू छन् । त्यसपछि ६ः२० बजे निवासबाट विमानस्थल प्रवेश गर्ने कार्यक्रम छ । ७ बजे कतार एयरवेजमार्फत न्युयोर्क प्रस्थान गर्नुहुनेछ । अरु कार्यक्रमबारे मलाई डिटेलमा थाहा छैन ।’

विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम हुने गरेको भए पनि बालेनले त्यो परम्परा तोड्ने सचिवालय स्रोतको भनाइ छ ।

सामान्यत प्रधानमन्त्रीको विदाइमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरू विमानस्थल पुग्ने गरे पनि मंगलबार साँझ कसैलाई पनि निम्ता गरिएको छैन् । 

त्यस्तै, प्रधानमन्त्रीको विदाइमा नेपाली सेनाले गार्ड अफ अनरसमेत दिने परम्परा रहेको भए पनि अनरको समेत कार्यक्रम तय भएको छैन । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रधानमन्त्रीका लागि औपचारिक कार्यक्रम नराखिएको जनाइएको छ । 

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाहले नेतृत्व गर्ने  नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क पुगिसकेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ११:५२
प्रतिक्रिया दिनुहोस्