देउवालाई साथ दिने जिल्ला सभापतिको गगनले तानिदिए हात

शुक्रबार, असोज २, २०८३

नेपाली कांग्रेसको संस्थापनपक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन अघि बढाउन असहयोग गरेको भन्दै इतर समूहमा रहेका चार जिल्ला सभापतिको जिम्मेवारी खोसेर कार्यवाहक सभापति तोकेको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो ।

जिम्मेवारी खोसिनेमा कञ्चनपुरका पदम बोगटी, मुगुका ऐनबहादुर शाही, डोटीका नरेन्द्रबहादुर सिंह र बागलुङका जित शेरचन छन् । उनीहरूलाई पार्टीको संस्थापनइतर समूह तथा पूर्वसभापति शेरबहादुर देउवापक्षसँग निकट मानिन्छ ।

निर्णयअनुसार कञ्चनपुरमा बोगटीको स्थानमा हरिचन्द्र राना, मुगुमा ऐनबहादुर शाहीको स्थानमा हरिजङ्ग शाही, डोटीमा सिंहको स्थानमा नारायणबहादुर बलायर र बागलुङमा शेरचनको स्थानमा तारानाथ पौडेललाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी खोसिए पनि सम्बन्धित जिल्ला सभापतिहरूको निर्वाचित पद भने कायमै रहने कांग्रेसले जनाएको छ । 

यसैबीच, जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति पदम बोगटीले कांग्रेसको महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न माग गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले पार्टीको वैधानिकता, नेतृत्व तथा विशेष महाधिवेशनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला नआएसम्म महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका छन् ।

उनले अदालतमा विचाराधीन विषय टुंगो नलाग्दै एकपक्षीय रूपमा संगठनात्मक गतिविधि अघि बढाउनु उचित नहुने जिकिर गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यही असोज ३ र ४ गते वडा अधिवेशन  हुँदै छ । वडा अधिवेशनसँगै कांग्रेसले महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

महाधिवेशनको पहिलो चरणका रूपमा हुने वडा अधिवेशनपछि क्रमशः पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, महाधिवेशन हुनेछ । महाधिवेशन यही असोज १६ गते काठमाडौंमा सुरु हुनेछ । त्यसका लागि तयारी पनि सुरु भइसकेको छ । सभापति गगन थापाले महाधिवेशनका लागि विभिन्न समिति बनाउने बताएका छन् । 

महाधिवेशनको कार्यतालिका र प्रक्रियालाई लिएर कांग्रेसभित्र संस्थापन पक्ष र इतर समूहबीच विवाद कायमै रहेका बेला चार जिल्ला सभापतिको जिम्मेवारी खोसिनुलाई पार्टीभित्रको आन्तरिक संघर्षकै अर्को घटनाका रूपमा हेरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्