सोसल मिडिया
युनिकोड
भोटेकोसी बाढीसहित विपद्सम्बन्धीं अध्ययन तथा सुझाव पेस गर्ने गरी संसदीय विशेष समिति बनाउने विषयमा बसेको दलका नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बुधबार (भदौ ३१) बसेको दलका प्रमुख नेताहरूको बैठकले संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
दलका सभापतिहरूसहितका नेता बसेर गरेको निर्णय कार्यान्वयनका लागि बिहीबार (असोज १) बसेको संसदीय दलका पदाधिकारीहरूको बैठकमा सहमति जुट्न नसकेको हो । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समिति बनाउने विषयमा सहमति जनाए पनि विपक्षीले कसलाई सभापति बनाउने भन्ने नाम मागेका थिए ।
संसदीय विशेष समितिको सभापतिको नाम दिएपछि सदस्यमा कस्तो ‘स्टाटस’का सांसदलाई सिफारिस गर्ने भनेर निर्णय गर्न सहज हुने विपक्षी दलका संसदीय पदाधिकारीहरूको भनाइ थियो । तर, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली उक्त प्रस्तावमा सहमत नभएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिए ।
विपक्षीका तर्फबाट संसदीय विशेष समिति संयुक्त सदनकै बन्ने अभ्यास छ । राष्ट्रियसभाबाट पनि सानो संख्यामा प्रतिनिधित्व गराउन प्रस्ताव राखिएको थियो । तर, उपनेता पराजुलीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।
“दलका उच्चस्तरीय नेताहरूको बुधबारको बैठकबाट नै संसदीय विशेष समिति बनाउने सहमतिअनुसार आज हामी बसेका थियौँ । हामीले दुईवटा विषयमा प्रस्ताव राखेका थियौँ,” बैठकका छलफलबारे सचेतक राईले भने, “पहिलो समितिको सभापति कसलाई बनाउने भनेर रास्वपाले जानकारी गराओस्, त्यस आधारमा हामी समितिमा रहने सदस्य सिफारिस गछौँ, दोस्रो संसदीय विशेष समिति संयुक्त सदनबाट पनि बन्ने भएकाले राष्ट्रियसभालाई पनि समेटौँ ।”
उनले दुवै प्रस्तावमा रास्वपा सहमत नभएको जानकारी दिए । बैठकमा सहमति नजुटेपछि संसदीय समिति प्रतिनिधिसभाबाट घोषणा नहुने भएको उनले बताए ।