वीरगन्ज महानगरपालिकाका मेयर राजेशमानले सफाई पाए, निलम्बन फुकुवा

सोमबार, भदौ २९, २०८३

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएका छन्।

विशेष आदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य,हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दामा सिंहसहित ७ जनालाई सफाई दिएको हो 

अदालतको उक्त आदेशसंगै  निलम्बनमा परेका सिंहलाई मेयरको हैसियतमा काम गर्ने बाटो खुलेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते विशेष अदालतमा सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित सिंहसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दा दायर भएसंगै सिंह मेयर पदबाट निलम्बनमा परेका थिए ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था अनुसार गत जेठ २५ गतेदेखि उनि निलम्बनमा परेका थिए। 

सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएको आरोप अख्तियारको थियो । तर सिंहले भने भट्टराई आफ्नो दोस्रो श्रीमती भएको भन्दै दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्