सोसल मिडिया
युनिकोड
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालय परिसरबाट गर्दै आएको खाना पकाउने ग्यासको प्रत्यक्ष बिक्री वितरण सोमबारदेखि बन्द गर्ने भएको छ ।
कार्यालयले आइतबार सूचना जारी गर्दै नेपाल आयल निगमसँगको समन्वयमा सार्वजनिक बिदाका दिन विगत तीन दिनदेखि कार्यालय परिसरमै ग्यास बिक्री गर्दै आएको जनाएको छ ।
निगमसँगको समन्वयमा खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी कार्यालय परिसरबाट हुँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने जनाएको हाे ।
‘सोमबारदेखि कार्यालयको नियमित काम, रसुवा बाढीपीडितका लागि राहतको व्यवस्थापन र रसुवा बाढीका कारण मृत्यु भई हालसम्म पनि पहिचान हुन नसकेका शवहरूको व्यवस्थापनमा लाग्नुपर्ने हुँदा अर्को सूचना प्रकाशन नभएसम्म यस कार्यालयको परिसरबाट ग्यास बिक्री वितरण नहुने, तर सम्बन्धित ग्यास विक्रेताहरू, डिलरहरू र खुद्रा विक्रेताहरूमार्फत बिक्री वितरण सुचारु रहने बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइएको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
ग्यासको अभावमा कठिनाइ भोगिरहेका डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, गर्भवती तथा साना बालबालिका भएका महिलालाई प्राथमिकता दिई ग्यास बिक्रीको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नियमित काम, रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीमा मृत्यु भएका र हालसम्म पहिचान हुन नसकेका शव व्यवस्थापनमा जुट्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म कार्यालय परिसरबाट ग्यास बिक्री गरिने छैन ।
तर, ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत भने ग्यासको बिक्री वितरण नियमित रहने कार्यालयले जनाएको छ ।