आज हरितालिका तीज, पशुपतिनाथमा दर्शन गर्नेको घुँइंचो

सोमबार, भदौ २९, २०८३

यस वर्षको हरितालिका (तीज) का अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाइन लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो लाइन मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवनहुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्‍याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

दोस्रो लाइन जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं. ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोकहुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ ।

यसैगरी तेस्रो लाम सिनामङ्गल, एयरपोर्टतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, वाग्मती किनाराहुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको र्‍याम्पबाट पूर्वमुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रबन्ध मिलाइएको उनले सुनाए ।

पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोकाहुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोकाअघि अस्थायी आकासेपुलहुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वरहुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको छ ।

बिहानको समयमा भक्तजनले सहज रूपमा लाममा बसेर आराध्यदे भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन् । बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था छ । बिहानी पख भदौरे झरीका बाबजुद पनि भक्तजन लाइनमा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ ।

तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयम्‌सेवक खटाइएको कोषले जनाएको छ ।

दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ । हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाइन लागेको छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा भक्तजनको लाइन लागेको जनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्