सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् ।
जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरे । आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा लिङ्देनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताए ।
जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको दाबी उनको छ ।
"जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन," लिङ्देनले भने, "बरु, देशमा आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ । राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ ।"
लिङ्देनले राजनीतिक परिस्थितिमा झन् तरलता बढेको र मुलुकको भविष्यबारे अनिश्चयसमेत गहिरिँदै गएको बताए । उनका अनुसार, जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा देश अघि बढ्न नसक्दा विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन सकेको छैन ।