भोटेकोशी बाढीले तीन जिल्लाका  १८ वटा विद्यालय प्रभावित, ९३ करोड ७३ लाख बराबरको क्षति

आइतबार, भदौ २८, २०८३

रसुवा बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन (आरडीएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।

प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन्, जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रूपमा क्षति पुगेको छ ।

स्थानीय तहअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुईवटा भवनका ११ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मूल्यका हिसाबले यो ३.७५ करोड रुपैयाँ बराबरको क्षति हो ।

रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीनवटा विद्यालयका ६ वटा भवनमा ३६ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यो करिब १२.२९ करोड रुपैयाँ बराबरको क्षति हो ।

नुवाकोटको विदुर नगरपालिकामा रहेका नौवटा विद्यालय प्रभावित भएका छन् । विद्यालयमा ३२ वटा भवनमा क्षति पुगेकामा ६१ वटा कोठा आंशिक र ८९ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जुन ३६.६२ करोड रुपैयाँ बराबर हो ।

धादिङको गल्छी गाउँपालिकाका तीनवटा विद्यालय प्रभावित भएका छन्, जसमध्ये १० वटा भवनका ७७ वटा कोठा आंशिक र आठवटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जुन १०.६१ करोड रुपैयाँ बराबरको क्षति हो । सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयको दुईवटा भवनका १२ वटा कोठा पूर्ण रूपमा क्षति भएका छन् । जुन ४.१ करोड रुपैयाँ बराबरको क्षति हो ।

जिल्लाको सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चारवटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको छ । जुन १.४३ करोड रुपैयाँ बराबरको क्षति हो । प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रूपमा रहेका २४.९३ करोड रुपैयाँको क्षति भएको छ । प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँ खर्च लाग्ने आकलन गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ११:४०
प्रतिक्रिया दिनुहोस्