सर्वोच्च अदालतमा मध्यरातमा आगलागी, भ्रष्टाचार मुद्दाका फाइल र कागजात नष्ट

बिहीबार, भदौ २५, २०८३

सर्वोच्च अदालतमा गत भदौ १७ गते मध्यरातमा भएको आगलागीमा भ्रष्टाचार मुद्दाका फाइल पनि जलेको भेटिएको छ । सिंहदरबार छेउ रहेको नयाँ भवनको भुइँतलामा आगलागी हुँदा मुद्दाका फाइल र कागजपत्र जलेका थिए । 

आगलागीको कारण खोज्न सर्वोच्च प्रशासन र प्रहरीबाट भिन्नाभिन्नै अनुसन्धान भए पनि प्रतिवेदन सार्वजनिक भएको छैन । यद्यपि, आगलागीपछि सर्वोच्च प्रशासनले सामान्य क्षति भएको जनाएको थियो । 

प्रारम्भिक अनुसन्धानबाट विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको थियो । प्रशासन र प्रहरीबाट ठोस निष्कर्ष आउन बाँकी छ । फरेन्सिक विज्ञबाट पनि आगलागीका अवशेषहरू संकलन गरेर लगिएको छ । राति साढे १ बजेतिर आगलागी भएको थियो । 

आगलागीबाट अन्डरग्राउन्डमा राखिएका कागजपत्र र मुद्दाका मिसिलहरू जलेर खरानी भएका छन् । आगलागी सुरु भएको केही बेरपछि नियन्त्रणमा लिइएका कारण ठूलो क्षति हुनबाट जोगिएको थियो ।

जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ को विध्वंश र आगजनीबाट बचेका मिसिल र कागजात समेत गत भदौ १७ को आगलागीमा परेको सर्वोच्च प्रशासन स्रोतले जनाएको छ । आगलागीमा भ्रष्टाचार मुद्दाका फाइल र कागजात डढेका अवशेष भेटिएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्