चीनले डीएनए पहिचान विज्ञहरु नेपाल पठाउने, शव पहिचानमा सहयोग 

मंगलबार, भदौ १६, २०८३

रसुवा बाढीमा ज्यान गुमाएर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले पनि सघाउने भएको छ। चीनले डीएनए पहिचान विज्ञहरु नेपाल पठाउने तयारी गरेको हो। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार उक्त जानकारी दिएका हुन्। विज्ञसँगै चीनले डीएनए परीक्षण उपकरणहरु, ड्रोन जलशुद्धीकरण उपकरण समेत पठाउन लागेको उनले बताए। 

बाढीपछि फेला परेका शवको पहिचान गर्न नेपालमा सकस परिरहेको छ। धेरै दिन नदीमा डुबेका ती शवहरु पहिचान गर्न सकिने अवस्थामा छैनन्। त्यसका लागि डीएनए परीक्षण एक मात्र विकल्प बनिरहेको बेला चीनबाट विज्ञसहितको टोली र उपकरण सहयोग हुनलागेको हो। 

गत बुधबारको बाढीपछि दिनदिनै थप शवहरु प्राप्त भइरहेका छन्। मंगलबारसम्म कम्तीमा १००० वटा शव संकलन भइसकेको छ भने सम्पर्कविहीन हुनेको संख्या मंगलबार बिहानसम्म ३ हजार ९ सय १६ पुगिसकेको छ। 
 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १४:०४
प्रतिक्रिया दिनुहोस्