एमालेले राज्यको राहत कोषमा जम्मा नगरी बाढी पिडितलाई १ करोड २० लाख दिने 

सोमबार, भदौ १५, २०८३

नेकपा एमालेले नेपालमा हालै आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत र पुनर्स्थापनामा खर्च गर्न १ करोड २० लाख रकम राहतस्वरुप छुट्टाएको छ । तर एमालेले यो रकम सरकारलाई भने दिने छैन ।

एमालेले बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति गठन गरेर यो रकम खर्च गर्न लागेको हो । समितिको संयोजक सचिव महेश बस्नेतलाई बनाइएको छ । कांग्रेसलगायत अन्य पार्टीहरूले सरकारले खोलेको प्रधानमन्त्री राहत कोषमा  सहयोग रकम जम्मा गरिरहँदा एमालेले भने सरकारलाई नदिई आफैँ खर्च गर्न लागेको हो । 

'विपद्को यस घडीमा प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका कार्यलाई तीव्रता दिन नेकपा (एमाले) ले १ करोड २० लाख (एक करोड बीस लाख रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ', अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

'प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री संकलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनःस्थापनाका लागि पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा 'बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति' गठन गरिएको छ,' विज्ञप्तिमा उल्लेख छ । 

सचिव बस्नेतको नेतृत्वमा एमालेले गठन गरेको समितिमा ४० नेता सदस्य छन् । विपद्‌मा परेका नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्दै भोलिदेखि नै एमालेको टोली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा जाने ओलीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २०:०२
प्रतिक्रिया दिनुहोस्