प्रधानमन्त्री वालेन्द्रले बाढी प्रभावित क्षेत्रका सांसदसँग के-के गरे छलफल ?

बुधबार, भदौ १०, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसद सहभागी थिए । छलफलमा बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यबारे जानकारी लिइएको थियो ।

भेटमा सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पुर्‍याएको क्षति र उद्धार तथा राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र राहतका लागि सरकार पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताएका छन् । उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई निर्देशन दिइसकिएको जानकारी गराए ।

यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज, उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए ।

सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्