हचुवा वात् लगाउने कुसुममाथि काँग्रेस नेता खड्काको झटारो, झुटो प्रचारको ठाडो खण्डन

मंगलबार, भदौ ९, २०८३

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले अदालतको मानमर्दन हुनेगरी आफ्नो नाम जोडेर झुटो प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । 

स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको भन्दै आफ्नोसमेत नाम जोडेर गरेको प्रचार सत्य नभएको भन्दै उनले खेद प्रकट गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो कुप्रचार तथा अदालतको गरिमालाई घटाउने योजनाबद्ध खेलप्रति खेदप्रकट गर्दछु  । जिम्मेवार मिडियासमेत यसप्रति सचेत रहन आग्रह गर्दछु ।’ 

नेता खड्काले न्यायको सर्वव्यापी सिद्धान्त सबैका लागि न्यायलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको आन्तरिक जीवनमा भएको केही अन्यायपूर्ण घटनामा न्याय खोज्न सर्वोच्चको ढोका ढकढक्याएको स्पष्ट पारेका छन् ।

उनले सम्मानित सर्वोच्च अदालतमा आज उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत अन्तरकालीन आदेश जारी गरी पाऊँ भनी माग गरी न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको भन्दै मेरोसमेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । 

नेता खड्काले न्याय र स्वतन्त्रताका लागि लडेको एक सिपाहीको नाताले सबै अदालतप्रति उत्तिकै विश्वास र भरोसा भएको भन्दै सम्मानित सर्वोच्च अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । कांग्रेस नेतृ कुसुम थापाले खड्काले अदालत सेटिङ गरेको आरोप लगाएकी छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्