सरकारको चार सदस्यीय वार्ता टोलीसँग भिड्न प्रसाईले बनाए नौं सदस्यीय वार्ता टोली

मंगलबार, भदौ २, २०८३

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाभियानका अध्यक्ष दुर्गा प्रसाईंले सरकारसँग वार्ता गर्न टोली बनाएका छन् । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लिलाधर सुवेदीको नेतृत्वमा चार सदस्यीय टोली बनाएको भोलिपल्ट प्रसाईंले नौ सदस्यीय वार्ता टोली गठन गरेका हुन् ।

भक्तपुरस्थित प्रसाईंको निवासमा बसेको बैठकले वार्ता टोली गठन गरेको हो । अभियानका तर्फबाट विष्णु बोहरा क्षेत्रीले वार्ता टोली संयोजकको जिम्मेवारी पाएका छन् । त्यस्तै, विजय थापा, देवी संग्रौला, हरदेव महतो, लीलदेव दनुवार, लाल शाह, रिकु मण्डल, राजु आचार्य र नरेन्द्र लामा सदस्य छन् ।

सरकारी टोलीतर्फ सुवेदीको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य छन् ।

प्रसाईंले सबै जातजातिको प्रतिनिधित्व गराउनुपर्ने भएकाले नौ सदस्यीय वार्ता टोली बनाउनुपरेको प्रतिक्रिया दिए ।

“यहाँ त सबै जातजाति र पक्षहरूको प्रतिनिधित्व गराउनुपर्ने भयो । त्यसलाई मिलाएर नौ सदस्यमा सीमित गरिएको हो,” प्रसाईंले भने, “हाम्रो महाअभियान एउटा सानो समूहले सञ्चालन गरेको होइन । यसमा देशका सबैजसो जातजाति र भूईमान्छेहरूको प्रतिनिधित्व छ ।”

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १३:५९
प्रतिक्रिया दिनुहोस्