धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक भएको भन्दै पूर्वराष्ट्रपति विद्याले दिईन् यस्तो उपदेश

आइतबार, साउन ३१, २०८३

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गरेकी छन्।

मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गरेकी हुन्।

उनले आफूभन्दा भिन्न विचार राख्नेहरुलाई पनि सम्मान गर्न युवालाई आग्रह गरिन्। लोकतन्त्रको शक्ति आफूले राखेको विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा दृष्टिकोण निर्माण गर्ने संस्कारमा रहेको उनको भनाई छ।

उनले सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण आजको पुस्ता विगतका पुस्ताभन्दा बढी सूचनासम्पन्न भएको बताइन्। तर धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक विषय भएको उनको भनाई छ। सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्ने क्षमता युवाका लागि आवश्यक रहेको उनको भनाई छ।

उनले राजनीतिमा युवाको सहभागिता पनि अपरिहार्य रहेको बताइन्। निर्वाचनका समयमा मत माग्ने वा दिने कार्यमा मात्र युवालाई सिमित गर्न नहुने उनको भनाई छ। समाज बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा भुमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रियाका रूपमा युवाको राजनीतिक सहभागिता अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।

उनले भनिन् ‘आजको पुस्ता सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण विगतका पुस्ताभन्दा धेरै सूचना सम्पन्न छ। तर सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन। त्यसैले सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजको पुस्ताका लागि अत्यन्तै महत्वपूर्ण छ। राजनीतिमा युवाहरुको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन। राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन। समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो।’

उनले मदन भण्डारीका विचारलाई नयाँ पुस्ताले समय र बदलिँदो सामाजिक परिवेशसँग जोडेर अध्ययन तथा आत्मसात गर्नुपर्ने पनि बताइन्।

लोकतन्त्रलाई थप प्रभावकारी र जनमुखी बनाउने, राज्यका संस्थालाई जवाफदेही तथा सक्षम बनाउने, राजनीतिमा युवाको सहभागिता र विश्वास बढाउने तथा शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने विषयमा युवाले गम्भीर बहस गर्नुपर्ने उनको भनाई छ।

देशमा परिवर्तनका अपेक्षा उच्च रहेको र युवामा नयाँ सोच तथा केही नयाँ गर्ने ऊर्जा रहेको उल्लेख गर्दै उनले उक्त ऊर्जा र उत्साहलाई देश तथा समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्र्नुपर्नेमा जोड दिइन्।

उनले युवालाई लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न आग्रह गरिन्। नयाँ पुस्ताले नै देशको सुदृढ र उज्ज्वल भविष्य निर्माण गर्ने उनको भनाई छ।
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १५:१६
प्रतिक्रिया दिनुहोस्