सोसल मिडिया
युनिकोड
पछिल्लो समय निजामती कर्मचारीमा राजीनामाको लहर चलेको छ। सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै निजामति कर्मचारीहरूले एकपछि अर्को गरी राजीनामा दिन थालेका हुन् । राजीनामा गर्नेमा सचिवदेखि खरिदार तहसम्मका छन्।
सरकारले ५५ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएपछि कर्मचारीले धमाधम राजीनामा दिन थालेका हुन् ।
नयाँ सरकार बनेपछि अहिलसम्म करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव र ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिइ सकेका छन् ।
यसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा.कमलप्रसाद पोख्रेलले पनि राजीनामा दिएका छन् । उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
साउन १३ मा सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। उनको सेवा अवधि एक वर्ष बढी बाँकी थियो। उनी राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुखबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट भएका थिए । उनी शिक्षा प्रशासनका हुन्।
त्यस्तै, आगामी भदौ ४ मा अनिवार्य अवकाशमा जान लागेका सचिव बावुराम अधिकारीले समेत पदबाट राजीनामा दिएका छन्। बागमती प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई अवकाशको समय नजिकिँदै गर्दा एकाएक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा उनी मात्र थिए।