लोकसेवा आयोगले सार्वजनिक गर्‍यो वार्षिक परीक्षा तालिका, कुन परीक्षा कहिले ?

मंगलबार, साउन ५, २०८३

लोकसेवा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि संघीय निजामती सेवा, संघीय स्वास्थ्य सेवा, संघीय संसद् सेवा तथा राष्ट्रिय मानवअधिकार सेवाका पदहरूको पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले सार्वजनिक गरेको तालिकाअनुसार विभिन्न तहका पदहरूको विज्ञापन साउनदेखि मंसिरसम्म प्रकाशन गरिनेछ भने लिखित परीक्षा कात्तिकदेखि फागुनसम्म सञ्चालन हुनेछ।

त्यसैगरी लिखित परीक्षाको नतिजा मंसिरदेखि वैशाखसम्म सार्वजनिक गर्ने र अन्तर्वार्ता तथा सिफारिसको काम माघदेखि जेठसम्म सम्पन्न गर्ने तालिका तय गरिएको छ।

राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका साथै राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणी र स्वास्थ्य सेवाका विभिन्न तहका पदहरूका लागि छुट्टाछुट्टै समयतालिका निर्धारण गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार सम्बन्धित निकायबाट माग प्राप्त हुने अवस्थाअनुसार पदपूर्तिको प्रक्रिया वार्षिक कार्यतालिकाअनुसार अघि बढाइनेछ।

सुरक्षा निकायका भर्ना प्रक्रिया सार्वजनिक

लोकसेवा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षा निकायअन्तर्गतका विभिन्न पदहरूको पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

तालिकाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका विभिन्न पदका लागि चरणबद्ध रूपमा विज्ञापन, लिखित परीक्षा र नतिजा प्रकाशन गरिनेछ।

नेपाली सेनामा अधिकृत क्याडेटदेखि प्राविधिक, बन्दोबस्ती तथा सैनिक पदसम्मको परीक्षा तालिका निर्धारण गरिएको छ। नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक, सहायक निरीक्षक, प्रहरी जवान तथा प्राविधिक समूहका पदहरू समेटिएका छन्।

यसैगरी सशस्त्र प्रहरी बलमा निरीक्षक, सहायक निरीक्षक, जवान तथा प्राविधिक समूह र राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत तथा अनुसन्धान सहायकका लागि पनि वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको आयोगले जनाएको छ।

सार्वजनिक संस्थानका पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

लोकसेवा आयोगले आर्थिक वर्ष २०८३/८४ मा सार्वजनिक संस्थानहरूमा गरिने पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिकामा नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल खानेपानी संस्थान, नेपाल बीमा प्राधिकरणलगायत दर्जनौं सार्वजनिक संस्थान समेटिएका छन्।

आयोगका अनुसार संस्थानहरूको मागका आधारमा साउनदेखि फागुनसम्म विज्ञापन प्रकाशित गरिनेछ। त्यसपछि चरणबद्ध रूपमा लिखित परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा अन्तिम सिफारिसको प्रक्रिया पूरा गरिनेछ।

आयोगले सम्बन्धित संस्थानले समयमै माग पठाएमा कार्यतालिकाअनुसार परीक्षा सञ्चालन हुने जनाएको छ।

सहकारी र सार्वजनिक संस्थानका विभिन्न तहका परीक्षा पनि वार्षिक तालिकामा समावेश

लोकसेवा आयोगले सहकारी सेवा र सार्वजनिक संस्थानअन्तर्गतका विभिन्न तहका पदहरूको पदपूर्ति प्रक्रिया समेत आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यतालिकामा समावेश गरेको छ।

कार्यतालिकाअनुसार सहायकस्तर प्रथम तथा द्वितीय श्रेणीका खुला प्रतियोगितात्मक परीक्षाका लागि छुट्टै समय निर्धारण गरिएको छ। यस्तै, सार्वजनिक संस्थानअन्तर्गतका विभिन्न प्राविधिक तथा प्रशासनिक पदका परीक्षा पनि चरणबद्ध रूपमा सञ्चालन हुनेछन्।

आयोगले विज्ञापन प्रकाशनदेखि लिखित परीक्षा, नतिजा प्रकाशन र अन्तिम सिफारिससम्मको सम्पूर्ण प्रक्रिया वार्षिक कार्यतालिकाअनुसार सञ्चालन गरिने जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १२:०६
प्रतिक्रिया दिनुहोस्