सरुवा र अवकाशको मुखैमा झापाका सिडिओ शिवरामले किन दिए राजीनामा ?

बुधबार, भदौ १७, २०८३

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनले २ दिनअघि नै काठमाडौँ पुगेर गृहसचिवलाई राजीनामा पत्र बुझाएका हुन् । उनले भोलिदेखि लागू हुनेगरी राजीनामा दिएका छन् ।

राजीनामा पत्र बुझाएर झापा फर्किएका प्रजिअ गेलाललाई आज जिल्ला प्रशासन कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरी बिदाइ गरिएको हो। 

सरकारले निजामती सेवामा जनशक्ति कटौती गर्ने लक्ष्यसहित ५५ वर्षमै अनिवार्य अवकाश दिने नीति अघि सारेपछि गेलालले राजीनामा दिएको बुझिएको छ।

संघीय निजामती सेवामा लामो समय काम गरेका पुराना कर्मचारीहरूको संख्या घटाउने उद्देश्यले संघीय निजामती विधेयकमार्फत नै यस्तो व्यवस्था गर्न सरकारले गृहकार्य गरिरहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रायका लागि कानुन मन्त्रालयमा पठाएको मस्यौदा विधेयकमा ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीहरूलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ।

यदि यो प्रावधान हुबहु पारित भएर कार्यान्वयनमा आएमा २०२८ सालअघि जन्मिएका र हाल सेवामा रहेका कर्मचारीहरू स्वतः सेवाबाट बाहिरिनेछन् । गेलाल झापाको सिडिओ भएको नौ महिना भएको थियो । गेलाल ५८ वर्षे उमेर हदका कारण आगामी २०८३ माघ १२ गते घर जाँदै थिए । उनले पाँच महिना पहिल्यै राजीनामा दिएका हुन् । उनको सरुवा पनि हुँदैथियो ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्