सोसल मिडिया
युनिकोड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन् । बजारमा मल आपूर्तिमा समस्या रहेको तथा कालोबजारीसमेत भएको गुनासो आउने गरेको उल्लेख गर्दै प्रचण्डले यी समस्या समाधान गर्न सरकारसँग माग राखेका हुन् ।
‘यतिखेर रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेका छन् । सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन’, प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसका साथै, उपलब्ध रहेको मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ ।’
नेपालको सन्दर्भमा मल आयातको प्रक्रिया जटिल रहेकोले यसका लागि समयमा नै पूर्वतयारी आवश्यक रहेको उनको भनाइ छ । आफू नेतृत्वको सरकारले उक्त जटिलताको गम्भीरता बुझेर समयमा आपूर्ति र वितरण गरेको उनले दाबी गरेका छन् ।
‘त्यसैले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै रासायनिक मलको आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत तयारी गर्न तथा कालोबजारी एवं बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्दै किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरण गर्न आग्रह गर्छु’, प्रचण्डको माग छ ।