सोसल मिडिया
युनिकोड
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं बुधबार राति १२ बजेदेखि ५८ वर्ष उमेर पूरा भएपछि अवकाशमा गए। हिजै अर्थात बुधबार सबेरै बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव मुक्तिराम अर्याललाई खटाउने निर्णय गर्यो। सरकारको निर्णयमा मुख्यसचिवले हस्ताक्षर गर्दा नगर्दै गुरागाईलाई महानगरले बिदाई गरिसकेको थियो।
प्रशासन सेवामा आन्तरिक प्रतिस्पर्धाबाट २०८१ फागुनमा सहसचिवमा सिफारिस हुँदै नियुक्ति पाएका अर्यालले अब काठमाडौँ महानगरको प्रशासनिक कमाण्ड सम्हाल्ने छन्। गुल्मी जिल्लाको मालिकामा जन्मिएका देवीराम अर्याल र दुर्गादेवी अर्यालका छोरा मुक्तिरामले पोखरा महानगर हुँदै काठमाडौँ महानगर सम्हाल्ने अवसर पाएका हुन्। सहसचिव भए लगत्तै लोक सेवा आयोगको कार्यालय जलेश्वरमा काम गरेर पोखरा पुगेका उनी त्यहाँबाट काठमाडौँ छिरेका हुन्।
चौथो प्रयासमा सहसचिव हुन सफल भएका उनी सहसचिव भएको छोटो अवधिमै रोजाईकै अड्डामा दरिने निकायको मूली बन्न सफल भएका छन्। मुक्तिरामले सहसचिवमा २ पटक खुला र १ पटक आन्तरिक प्रतिस्पर्धाबाट लिखितमा नाम निकालेर अन्तर्वातामा असफल भएका थिए। चौथो प्रयासमा भने उनी आन्तरिक प्रतिस्पर्धाबाटै सहसचिव बन्न सफल भएका हुन् ।
मुक्तिरामले २०७१ साल फागुनमा नेपाल प्रशासन सेवाको सहसचिव खुलामा नाम निकालेका थिए। त्यो बेला उनी वैकल्पिकमा पनि पर्न सकेनन्। प्रशासन सेवाको खुलामा ३ जना सहसचिव मागेकोमा मुक्तिरामको जयनारायण आचार्य, नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री, डिलाराम पन्थी लगायतसँगै लिखितमा नाम निस्किएको थियो। त्यो बेला अन्तर्वार्तापछि जयनारायण आचार्य, नारायणप्रसाद भट्ट, उत्तरकुमार खत्री सहसचिवमा सिफारिस भए। वैकल्पिकमा पनि डिलाराम पन्थी परेका थिए। त्यो बेला पनि मुक्तिराम मुकदर्शक मात्र बने। तर उनले हिम्मत हारेनन्।
२०७४ सालमा फेरि मुक्तिरामले दोस्रोपटक सहसचिवको खुलामा नाम निकाले। त्यो बेला उनीसँगै नारायणप्रसाद रेग्मी, नारायणप्रसाद भट्टराई, ध्रुव घिमिरे, प्रकाश दाहाल, टोकराज पाण्डे, नारायण खतिवडालगायतले नाम निकालेका थिए। त्यसमा नारायणप्रसाद रेग्मी, नारायणप्रसाद भट्टराई, ध्रुव घिमिरे, प्रकाश दाहाल सहसचिव सिफारिस भए भने टोकराज पाण्डे र नारायण खतिवडा वैकल्पिकमा परे। त्यो बेला पनि मुक्तिराम असफल भए।
२०७९ सालमा मुक्तिरामले खुलातिर बिट मारेर आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवको लिखितमा नाम निकाले। २०७९ सालको आन्तरिक प्रतिस्पर्धामा रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल, धर्मराज रोकायसँगै मुक्तिरामले सहसचिवको लिखितमा नाम निकालेका थिए। त्यो बेला आन्तरिक प्रतिस्पर्धाबाट रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल सहसचिवमा सिफारिस हुँदा धर्मराज रोकायपछिको वैकल्पिकमा मुक्तिराम परेका थिए। तर, पनि उनको प्रयास जारी रह्यो।
२०८१ सालमा भने मुक्तिरामले सहसचिव बन्ने प्रयासबाट मुक्ति पाए। २०८१ सालको प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धामा १५ जनाले लेखितमा नाम निकालेका थिए। ११ जना सहसचिवको लागि भएको प्रतिस्पर्धामा १ नम्बर वैकल्पिकमा पर्ने खतराबाट मुक्त हुँदै मुक्तिरामले ८ औं नम्बरमा सिफारिस हुन सफल भएका थिए।